मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ३० बुधबार ०७:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विदेशी नागरिकता त्यागेका रवि लामिछानेले पुनः नेपाली नागरिकता नलिएको आरोपमा उजुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ३० बुधबार ०७:०८:००

रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक एवं चितवन २ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । विदेशी नागरिकता त्यागेका लामिछानेले पुनः नेपाली नागरिकता नलिएको र यसैकारण उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गर्दै राजकुमार पाण्डेले मंगलबार निर्वाचन आयोगमा उजुरी दिएका हुन् । 

आयोगको क्षेत्राधिकार आकर्षित नहुने भएकाले उजुरीमाथि आवश्यक कारबाहीका लागि मंगलबारै चितवन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिए । ‘उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट स्पष्टीकरण माग हुन्छ । स्पष्टीकरण र आवश्यक प्रमाणहरू जुटाएर आयोगमा पठाउँछ । आयोगले निर्णय गर्छ,’ उनले भने । 

लामिछानेविरुद्ध नागरिकतासम्बन्धी विवादमा उजुरी आएको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले बताए । ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः बदर हुन्छ र विदेशी मुलुकको नागरिकता त्यागेपछि पहिलेको नागरिकता स्वतः कार्यान्वयन हुँदैन । अर्काे नागरिकता प्राप्त गर्नुपर्छ । अहिलेको नागरिकता बदर भइसकेकाले उनी नेपाली नागरिक नभएकाले उम्मेदवार बन्न अयोग्य भएको प्रकृतिको उजुरी आएको छ,’ वाग्लेले भने । 

६ जनालाई स्पष्टीकरण 
निर्वाचन आयोगले बुधबार आचारसंहिता उल्लंघनमा ६ जनालाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रको प्रचारप्रसारमा संलग्न भएको विषयमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई, दलीय आबद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा काठमाडौं १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार डम्बर साहुलाई, कांग्रेस तथा माओवादी उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको विषयमा मनोहराका मेयर उपेन्द्र कार्कीलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै, आफूनिकट दल र उम्मेदवारलाई मत मागेको विषयमा डडेल्धुराको पर्शुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी र उपप्रमुख विमल थापालाई स्पष्टीकरण सोधिएको छ । मकवानपुर १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार दीपेन्द्रचन्द ठकुरीलाई दलीय आबद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधिएको छ । आयोगले निर्वाचन आयोग ऐनअनुसार जरिवाना र उम्मेदवारी खारेजी गर्ने चेतावनीसमेत दिएको छ । 

एनसिसी बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन
आयोगले नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । आयोगले सिन्धुपाल्चोक २ का उम्मेदवार रहेका व्यक्तिसमेत सञ्चालक रहेको बैंकको साधारणसभा २ मंसिरमा आयोजना गरिएको र मौन अवधि सुरु भइसकेपछि ठूलो संख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गरी साधारणसभा गर्दा आचारसंहिता उल्लंघन हुनुको साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्न सक्ने भएकाले सभा रोक्न निर्देशन दिएको हो ।