१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ कार्तिक ३० बुधबार ०६:३९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावी दौडमा १८ डाक्टर

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ कार्तिक ३० बुधबार ०६:३९:००

कोही पार्टी र कोही स्वतन्त्रबाट उम्मेदवार, स्वास्थ्य र शिक्षा मुख्य एजेन्डा 

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा चुनावी दौडमा झन्डै डेढ दर्जन चिकित्सक पनि सहभागी भएका छन् । चिकित्सा क्षेत्रमा विशेषज्ञता हासिल गरेका उनीहरू चुनावी मैदानमा उत्रिएका हुन् । चुनावमा भाग लिएका चिकित्सकमध्ये कोही पार्टी र कोही स्वतन्त्रबाट उम्मेदवार बनेका हुन् ।

मूलतः स्वास्थ्य क्षेत्रलाई नै आफ्नो चुनावी एजेन्डामा उनीहरूले प्रस्तुत गरेका छन् । स्वास्थ्य र शिक्षा क्षेत्रलाई राजनीतिक दलहरूले चुनावी एजेन्डामा मात्रै सीमित राखेको चिकित्सक उम्मेदवारको आरोप छ । मेडिकल शिक्षा सुधारका लागि आन्दोलन गर्दै आइरहेका डा. गोविन्द केसीले चिकित्सकले चुनाव भाग लिनु सुखद रहेको बताए । उनले सत्तामा डाक्टरको उपस्थिति हुँदा स्वास्थ्य क्षेत्र थप बलियो हुने र यस क्षेत्रका माग पूरा गर्न सहज हुने जानकारी दिए । 

नेपाल मेडिकल काउन्सिलका अनुसार देशका विभिन्न जिल्लाका विभिन्न क्षेत्रबाट करिब डेढ दर्जन डाक्टरले प्रतिनिधिसभा र प्रदेश सभातर्फ भाग लिएका छन् । उम्मेदवारमध्ये डा. तोसिमा कार्की काउन्सिलको सदस्यसमेत छिन् । उनको उम्मेदवारी खारेजको माग गरिए पनि सर्वोच्चले कायम गरिदिएको छ । त्यस्तै, रुपन्देही २ बाट उम्मेदवारी दिएका निकोलस भुसालको उम्मेदवार खारेज भइसकेको छ । ‘यसपटकको चुनावमा धेरै चिकित्सक उम्मेदवार बन्नुभएको छ, यो निकै राम्रो हो,’ काउन्सिलका सदस्य डा. लोचन कार्कीले भने, ‘अहिले उम्मेदवार बनेकामध्ये अधिकांशले नियम पालना गर्नुभएको छ ।’ 

प्रसिद्ध छाला तथा यौन एवं सौन्दर्य विशेषज्ञ युवा डाक्टर प्रसन्नकुमार झाले जनमत पार्टीबाट धनुषा ३ (क)मा उम्मेदवारी दर्ता गराएका छन् । उनले आफूले चुनाव जिते स्वास्थ्य क्षेत्रका मुद्दालाई उठान गर्ने बताए । ‘सबैजसो राजनीतिकर्मीले स्वास्थ्यको मुद्दालाई उठाए पनि त्यसलाई मुद्दामै सीमित राखे,’ उनले भने, ‘जुन क्षेत्रको व्यक्ति हो, त्यो सत्तामा पुग्यो भने त्यस क्षेत्रका ठोस मुद्दा उठान हुन्छन् ।’

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले स्वास्थ्यलाई हरेक क्षेत्रले छुनुपर्ने धारणा राखे । ‘स्वास्थ्यका एजेन्डा उठाउन डाक्टर नै चाहिन्छ भन्ने होइन, तर डाक्टरले चुनावमै भाग लिनु सकारात्मक कुरा हो,’ उनले भने, ‘तर, राज्यका सबैखाले नीतिभित्र स्वास्थ्यलाई समेटेको हुनुपर्छ ।’ 

काउन्सिलका अनुसार प्रतिनिधिसभामा डा. अर्चनशमशेर राणा काठमाडौं ४, डा. रक्षा न्यौपाने बारा २, डा. नवीन मण्डल सप्तरी ३, डा. राजेन्द्रप्रसाद साह रौतहट १, डा. तोसिमा कार्की ललितपुर ३, डा. प्रसन्नकुमार झा, धनुषा ३ (क), रौतहट–२,  डा. मधु गुप्ता पर्सा ३, डा. प्रवीण यादव सिराहा ३, डा. सुरेन्द्र यादव उम्मेदवार बनेका छन् । त्यस्तै, वरिष्ठ दन्त चिकित्सक डा. सुदिन शाक्य ललितपुर २ बाट उम्मेदवार बनेका छन् । 

हाम्रो नेपाली पार्टीबाट काठमाडौं ४ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. अर्चनशमशेर राणाले सरकारी अस्पताललाई निजीजस्तै गुणस्तरीय बनाउन चाहेको बताए । ‘मैले चुनावी एजेन्डामा स्वास्थ्यलाई नै केन्द्रमा राखेको छु । स्वास्थ्य बिमालाई लागू गर्ने र व्यापक बनाउने, संघीय शिक्षा ऐन जारी गरी शिक्षामा सुधार ल्याउने, युवा र स्वरोजगार कोष व्यवस्थापन गर्ने, संघीयता खारेज गर्ने, सरकारी अस्पताललाई निजीजस्तै गुणस्तरीय बनाउनेलगायत एजेन्डा अघि सारेको छु,’ उनले भने । 

धनुषा ३ (क) बाट उम्मेदवार बनेका डा. प्रसन्नकुमार झाले शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउने एजेन्डा लिएको बताए । ‘मैले स्वास्थ्य क्षेत्रका मुद्दा नै मुख्य एजेन्डाको रूपमा उठान गरेको छु । सबैजसो राजनीतिकर्मीले स्वास्थ्यको मुद्दालाई उठाउँछन्, तर उनीहरूले त्यसलाई मुद्दामै सीमित राखे । वास्तवमा शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनुपर्छ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीले गुणस्तरीय स्वास्थ्य आफ्नो मुख्य मुद्दा भएको बताइन् । ‘गुणस्तरीय स्वास्थ्य मेरो मुख्य एजेन्डा हो । अहिलेसम्म नेपालमा स्वास्थ्य बिमा प्रभावकारी बनेको छैन । म ललितपुर क्षेत्रमा स्वास्थ्य बिमालाई पूर्ण कार्यान्वयन गर्छु । स्वदेशमै औषधि उत्पादन गर्ने योजना अघि सार्नेछु,’ उनले भनिन्, ‘युवालाई रोजगारमूलक कार्यक्रम ल्याउँछौँ । उनीहरूको क्षमतालाई स्वदेशमै प्रयोग गर्नुपर्छ ।’ 

मेडिकल काउन्सिलका अनुसार काउन्सिलमा सदस्यसमेत नरहेका चिकित्सक चुनाव लड्न स्वतन्त्र मानिन्छन् । यसबाहेक सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले पनि उम्मेदवार बन्नुपूर्व राजीनामा दिनुपर्छ । तर, उम्मेदवार बनेका चिकित्सकमध्ये कोही पनि सरकारी सेवामा छैनन् । उनीहरूलाई उम्मेदवार बन्ने बाटो रोकिन्न ।