मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ कार्तिक ३० बुधबार ०६:२५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

मर्जरमा जान बिमा कम्पनीको आनाकानी

जीवन बिमा कम्पनीले पाँच अर्ब र निर्जीवन बिमाले दुई अर्ब ५० करोड चुक्ता पुँजी पु¥याउन पाँच महिना मात्रै बाँकी

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ कार्तिक ३० बुधबार ०६:२५:००

बिमा समितिको निर्देशनबमोजिम चुक्ता पुँजी कायम गर्न मर्जरमा जाने कार्ययोजना पेस गरेका बिमा कम्पनीहरू आनाकानी गर्न थालेका छन् । समितिले कम्पनीहरूलाई चुक्ता पुँजी कायम गर्न दिएको अवधि अब पाँच महिना मात्रै बाँकी छ । समितिले गत चैतमा जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको दुई अर्ब ५० करोड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको छ । यसअघि जीवन बिमा कम्पनीको दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब पुँजी तोकिएको थियो ।  

समितिको निर्देशनबमोजिम अधिकांश कम्पनीले मर्जरमा जाने कार्ययोजना पेस गरेका छन् । जसमध्ये हालसम्म १९ वटा कम्पनीले मर्जरका लागि समितिबाट सहमतिसमेत पाइसकेका छन् । मर्जरको प्रस्ताव पेस गरेका कम्पनीमध्ये हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सले एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । यद्यपि, मर्जरको प्रस्ताव पेस गरेका कम्पनीहरूले समेत एकीकृत कारोबारको सुनिश्चितता गर्न सकेका छैनन् ।  

 चार जीवन बिमा कम्पनीले बुझाए पुँजी थप्ने योजना
बिमा समितिले तोकेको चुक्ता पुँजी कायम गर्न चार जीवन बिमा कम्पनीले कार्ययोजना बुझाएका छन् । समितिका अनुसार आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ, रिलायबल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुँजी इन्जेक्ट गर्ने कार्ययोजना पेस गरेका हुन् । महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्ताव गरिसकेको छ । 

समितिले पुँजी वृद्धि गर्न मर्जरलाई पहिलो र दोस्रो विकल्पका रूपमा लगानीकर्ता आफैँले क्यापिटल इन्जेक्ट गर्ने विकल्प दिएको छ ।  बिमा समितिले तोकेको चुक्ता पुँजी कायम गर्नका लागि शतप्रतिशत हकप्रद वितरण गर्न नपाइने भनेको छ । समितिले यसअघि नै हकप्रद सेयर वितरणमा रोक लगाएको थियो । नेपालमा हाल सञ्चालनमा रहेका ४१ बिमा कम्पनीमध्ये १९ जीवन, २० निर्जीवन र दुइटा पुनर्बिमा छन् । ३९ वटा बिमा कम्पनीमध्ये ३१ लाई मर्जरमा जानुपर्ने दबाब छ । 

१९ जीवन बिमा कम्पनीमध्ये नौवटाले मर्जरको सहमति पाइसकेका छन् । तीनवटाले पुँजी थप गर्ने योजना पेस गरेका छन् । बाँकी कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले तोकेको चुक्ता पुँजी पूरा गरिसकेको छ भने नेसनल लाइफ इन्स्योरेन्सको पनि पुँजी नजिक–नजिक पुगेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसनले पनि पुँजी थप गर्ने जनाएको समितिले बताएको छ । एसियन लाइफ इन्स्योरेन्स र सन नेपाल इन्स्योरेन्स पनि मर्जर, पुँजी थप र हकप्रद सेयर निष्कासन गर्नेलगायतका कार्ययोजना प्रस्तुत गरेका छन् । तर, प्रक्रिया भने अगाडि बढेको छैन  । 

२० निर्जीवन बिमा कम्पनीमध्ये १० वटाले मर्जरको सहमति प्राप्त गरिसकेका छन् । बाँकी १० वटामध्ये शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्सले आफैँले पुँजी पु¥याउने भएका छन् । बाँकी नेपाल इन्स्योरेन्स, आइएमई जनरल, प्रुडेन्सियल र एनएलजीले भने मर्जरको कार्ययोजना पेस गरे पनि प्रक्रिया भने अगाडि बढाएका छैनन् । 
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय बिमा संस्थान सोमबारदेखि कम्पनीमा परिवर्तन भएको छ । नयाँ बिमा ऐनमा भएको व्यवस्थाअनुसार बिमा समिति प्राधिकरणमा परिवर्तन भएपछि संस्थान स्वतः कम्पनीमा परिवर्तन हुनेछ ।

कम्पनीले अब एक वर्षभित्रमा समितिले तोकेको पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरी कम्पनीमा दर्ता हुनुपर्नेछ । युनाइटेड इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्सले मर्जरको कार्ययोजना पेस गरे पनि प्रक्रिया भने अझै सुरु गरेका छैनन् । त्यस्तै, मेट लाइफ, नेसनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स भने विदेशी बिमा कम्पनीका शाखा कम्पनी हुन् । यी कम्पनीका लागि समितिले असाइन क्यापिटल कायम गर्नुपर्ने व्यवस्था छ । 

 मर्जरको सुविधा लिए, तर प्रक्रिया अगाडि बढाएनन्
मर्जरमा गएबापत पाउने सुविधा लिए पनि केही बिमा कम्पनीले थप प्रक्रिया अगाडि बढाएका छैनन् । बिमा समितिका अनुसार नेपाल इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्सले मर्जरमा जाने भन्दै सुविधा लिएर प्रक्रिया सुरु गरेका छैनन् । नेपाल इन्स्योरेन्सले मर्जरमा जाने भन्दै तेस्रो कार्यकाल थप गरे पनि अहिलेसम्म मर्जर कमिटीसमेत गठन नगरेको बिमा समितिले जनाएको छ ।

बिमा नियमावलीअनुसार बिमा कम्पनीका सञ्चालक दुई कार्यकालभन्दा बढी रहन पाउँदैनन् । तर, समितिले मर्जरमा जाने कम्पनीका सञ्चालकलाई थप एक कार्यकाल पदमा रहन पाउने सुविधा दिएको छ । सोहीबमोजिम कम्पनीले सञ्चालक समितिको पद थपेको हो । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विके महर्जनले मर्जरको प्रक्रिया अगाडि बढाइएको बताए । मर्जरका लागि छलफल र अध्ययन भइरहेको उनको भनाइ छ ।

 त्यस्तै, युनियन लाइफ इन्स्योरेन्सले पनि मर्जरमा गएबापत पाउने सुविधामध्ये सेयर स्वामित्व परिवर्तन गरेको छ । कम्पनीले मर्जरमा जाने भन्दै संस्थापक सेयर ५१ र सर्वसाधारणको सेयर ३९ प्रतिशत कायम गर्ने सुविधा लिएको छ । तर, मर्जरको प्रक्रिया अगाडि बढाउन नसकेको समितिको भनाइ छ । प्रुडेन्सियल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले मर्जरको कार्ययोजना पेस गरे पनि प्रक्रिया भने अगाडि नबढाएको समितिले जनाएको छ ।