१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ कार्तिक २९ मंगलबार १५:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापका उम्मेदवार घरदैलोलाई तीव्र पार्दैै, सत्तागठबन्धन सहज अंकगणितमा

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ कार्तिक २९ मंगलबार १५:२१:००

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका नेता र स्वतन्त्र उम्मेदवारले आफ्नो पक्षमा मतदाता रिझाउन घरदैलो कार्यलाई तीव्रता दिएका छन् ।

मौन अवधि लाग्नुअघि जिल्लाका सबै मतदातालाई एकपटक भेट्ने कार्यतालिका बनाएर उम्मेदवारहरूले घरदैलोलाई तीव्रता दिइरहेका छन् । जिल्लाका सबै राजनीतिक दलहरूले पहिलो चरणको चुनावी सभा सकेर दोस्राे चरणको घरदैलोलक्षित चुनावी कार्यक्रम लिएर मतदातासमक्ष पुग्न थालेका हुन् ।

जिल्लामा एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेश सभाको सिट रहेको छ । यहाँ कुल मतदाता संख्या एक लाख ८० हजार एक सय ६ जना रहेको छ । जसमध्ये पुरुष मतदाताको संख्या ९२ हजार ६९ र महिला मतदाताको संख्या ८८ हजार ३७ जना रहेको छ । रामेछापमा १७ वटा राजनीतिक दलका नेता र पाँच स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । त्यस्तै प्रदेश सभा (क) तर्फ ११ र प्रदेश (ख) मा १२ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रामेछापमा आदीवासी जनजातितर्फ ६८.१८ प्रतिशत, खस आर्यतर्फ २७.२७ प्रतिशत र दलिततर्फ ४.५५ प्रतिशत मत रहेको छ । यी मत आफ्नो पक्षमा पार्न सबै राजनीतिक दलका उम्मेदवार घोषणापत्र सँगसँगै लिएर मतदाताको घरदैलोमा पुगेका छन् । उम्मेदवार धेरै भए पनि जिल्लामा सत्तागठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले पाएको कुल वडागत मत ४१ हजार ५१ हो । त्यस्तै, एमालेले वडागत मत ३९ हजार ३३ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले २७ हजार ३९ मत प्राप्त गरेका थिए । यो तथ्यांकअनुसार सत्तागठबन्धनका उम्मेदवार यसपटक सहज अवस्थामा देखिन्छन् । रामेछापमा प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट कांग्रेस नेता पूर्णबहादुर तामाङ (कान्छाराम) र एमालेबाट कैलाशप्रसाद ढुंगेल उम्मेदवार छन् । 

कान्छाराम यसअघि ०७४ को निर्वाचनमा पनि संघीय सांसदका लागि उम्मेदवार भई पराजित भएका थिए । त्यतिवेला जिल्लामा एमाले र मााओवादीबीच गठबन्धन थियो । । त्यतिवेला एमाले–माओवादी वाम गठन्धनबाट माओवादी नेता श्यामकुमार श्रेष्ठले ४२ हजार एक सय १७ मत ल्याई विजय हासिल गरेका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कान्छारामले ३५ हजार सात सय ७१ मत प्राप्त गरेका थिए । यसपटकको निर्वाचनमा भने कांग्रेस र माओवादीसहितको गठबन्धन भएकाले कान्छारामलाई जितका लागि सहज अंकगणित देखिन्छ । यद्यपि, एमाले उम्मेदवार ढुंगेल ०७४ को चुनावमा प्रदेश सांसदमा विजयी भई बागमती प्रदेशको अर्थमन्त्री भइसकेका पात्र हुन् । उनले एमालेको मत जोगाउँदै गठबन्धनमा आबद्ध अन्य दलसँग असन्तुष्ट मतदाताको भोट तान्ने प्रयास गरिरहेका छन् ।

एमालेले रामेछापका सबै सिट जित्ने प्रतिनिधिसभा सदस्यका उम्मेदवार ढुंगेलको दाबी छ । सत्तागठबन्धनबाट बाहिरिएर नेकपा (एकीकृत समाजवादी) ले एकल उम्मेदवारी दिएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा लोकतान्त्रिक गठबन्धनभित्र देखिएको मनमुटाव र नेकपा एमालेले पटकपटक एउटै उम्मेदवार दोहोर्‍याउँदा जनताले उनीहरूलाई भोट नदिई आफ्नो नयाँ पार्टीलाई भोट दिने र आफ्नो जित निश्चित भएको एकीकृत समाजवादीबाट प्रदेश सभा (क) मा उम्मेदवार बनेका रमेशकुमार बस्नेतले दाबी गरे ।