मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २९ मंगलबार ११:००:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा भलिबल : रमाइलोसँगै शारीरिक र मानसिक स्फूर्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २९ मंगलबार ११:००:००

शारीरिक रूपमा तन्दुरुस्त रहन खेलकुद निकै महत्वपूर्ण छ । खेलकुदले व्यायाम गराउँछ । व्यायामले मस्तिष्कलाई खुसी राख्ने सेरोटोनिन, डोपामाइन, इन्डोर्फिन्स र अक्सिटोसिन हर्मोनहरूको उत्पादन बढाउँछ । यी हर्मोनले हामीलाई तनावबाट टाढा राख्छन् । र, हाम्रो सकारात्मक सोच बढ्छ । 

मानबहादुर श्रेष्ठ, भलिबल खेलाडी 

स्वस्थ प्रतिस्पर्धा, रमाइलो र शारीरिक कसरतका लागि भलिबल प्रभावकारी माध्यम हो । यो खेल जुनसुकै मौसममा इन्डोर र आउटडोर रूपमा खेल्न सकिन्छ । त्यही कारण इन्डोर भलिबलसँगै बिच भलिबल र विन्टर भलिबलजस्ता यसका अन्य स्वरूप पनि निकै लोकप्रिय छन् । यस खेलले जाडोमा हाम्रो शरीरलाई पर्याप्त कसरत गराउँछ, रक्तसञ्चार बढाउँछ, मानसिक ऊर्जा भर्ने काम गर्छ । 

शरीरमा ऊर्जा
भलिबल खेल्दा रमाइलो त छँदैछ, यसले आत्मीयता पनि बढाउँछ । त्यसैले चाडपर्वमा यो खेल धेरै खेल्ने गरिन्छ । भलिबल खेल्दा शरीरमा सकारात्मक ऊर्जा मिल्छ । स्वस्थ प्रतिस्पर्धामार्फत खेल जित्न खेलाडीको ध्यान केन्द्रित रहन्छ । नकारात्मक सोचबाट हामीलाई टाढा राख्छ । 

फिटनेस कायम 
भलिबल खेल्दा पर्याप्त व्यायाम हुने भएकाले शरीर फिट रहन्छ । त्यसैले यस खेललाई कार्डियो एरोबिक व्यायामकै एउटा स्वरूप मानिन्छ । उफ्रिने, दौडिने र सट हान्ने कार्यले शरीरको पूर्ण अभ्यास गराउँछ । जसकारण, शरीरको फ्याट कम हुन्छ र वजन घट्दै जान्छ । मधुमेह, मोटोपनलगायत समस्याबाट टाढा राख्न यस खेलले सहयोग पुर्‍याउँछ । नियमित रूपमा २० मिनेटभन्दा लामो समय भलिबल खेल्ने हो भने वजन बिस्तारै घट्दै जान्छ । 

तनाव व्यवस्थापन
भलिबल खेलेर तनाव व्यवस्थापन गर्न सकिन्छ । मानसिक रूपमा समेत आराम मिल्ने भएकाले खेलका दौरान आनन्दित महसुस गराउँछ ।  शरीरका सबै अंग सक्रिय हुने भएकाले ताजापन महसुस गर्न सकिन्छ । त्यसैले यो खेलले तनाव कम कराउँछ ।

राम्रो निद्रा 
व्यायामले तपाईंलाई राम्रो निद्रा दिन्छ । किनकि, यसले एन्जाइम गतिविधि र मांसपेशीहरूको कार्यलाई बढाउन सहयोग गर्छ । बिहानको समय भलिबल खेल्दा तपाईंले आफूलाई निकै शक्तिशाली महसुस गर्नुहुन्छ । 

मजबुत मांसपेशी
नियमित भलिबल खेल्ने मानिसको मांसपेशी बलियो हुन्छ । खेल खेल्दा वा अभ्यास गर्दा पर्याप्त व्यायाम हुने भएकाले स्वस्थ रहन सहयोग पुग्छ । दैनिक भलिबल खेल्नेलाई अन्य व्यायामको आवश्यकता पर्दैन । भलिबल खेलेरै स्वस्थ र फिट रहन सकिन्छ । नियमित भलिबल खेल्दा हड्डी मजबुत हुन्छ । कडा सट प्रहार गर्दा खेलाडीमा बेग्लै ऊर्जा आउँछ । बढ्दो उमेरका किशोर–किशोरीको मानसिक तथा शारीरिक विकासमा यसले सहयोग गर्छ । 

सकारात्मक सोच 
तपाईंमा सकारात्मक सोच र ऊर्जा ल्याउँछ । जित्ने मानसिकताको विकास गराउँछ । जीवनमा आइपर्ने हरेक चुनौतीलाई सकारात्मक सोच र ऊर्जाका साथ सामना गर्न आत्मबल दिन्छ । अनुशासनमा रहेर नियमित अभ्यास गर्ने बानीको विकास गर्छ, आत्मविश्वास वृद्धि हुन्छ । 

राष्ट्रिय खेल 
भलिबल नेपालको राष्ट्रिय खेल हो । यो जुनसुकै लिंग र उमेर समूहकाले खेल्न मिल्ने खेल हो । यो सानो क्षेत्रफलमा पनि सजिलैसँग खेल्न सकिन्छ । नेपालमा सबै क्षेत्रमा भलिबल खेलिन्छ र लोकप्रिय छ ।