• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमेरिकी प्यासिफिक कमान्डका कमान्डिङ जनरल चाल्र्स ए फ्लाएनलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्मा
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २७ शुक्रबार ०६:४८:००
मुख्य समाचार

अमेरिकी प्यासिफिक  कमान्डिङ जनरल काठमाडौंमा

नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २७ शुक्रबार ०६:४८:००

अमेरिकी प्यासिफिक कमान्डका कमान्डिङ जनरल चाल्र्स ए फ्लाएन बिहीबार काठमाडौं आइपुगेका छन् । अमेरिकी सेनाको विशेष विमानबाट उनी अपराह्न आएका हुन् । उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासहित उच्च नेपाली अधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

अनौपचारिक जिन्स पाइन्ट लगाएका उनलाई सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । यस वर्ष नेपाल आएका उनी उच्च अमेरिकी सैनिक अधिकारी हुन् । 

अमेरिकी जनरल चाल्र्स सद्भावना भ्रमणमा आएको सेनाले जनाएको छ । उनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी शनिबार माउन्टेन फ्लाइटमा सगरमाथा आधार शिविर जाने र आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल भ्रमण गर्ने कार्यक्रम छ । 

प्रधानसेनापति शर्मा असार पहिलो सातादेखि दुई हप्ता अमेरिका र लेबनान तथा इजरायल भ्रमणमा जाँदै छन् । उनको औपचारिक अमेरिका भ्रमणअघि अमेरिकी सैनिक जनरलको भ्रमणलाई महत्वसाथ हेरिएको छ ।