• वि.सं २०७९ श्रावण २९ आइतबार
  • वि.सं २०७९ श्रावण २९ आइतबार
  • Sunday, 14 August, 2022
२०७९ जेठ २४ मंगलबार १४:०७:००
समाचार

अतिक्रमित वन क्षेत्रमा बन्यो हराभरा पार्क

२०७९ जेठ २४ मंगलबार १४:०७:००

दाङको तुलसीपुर– ७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान पार्क बनाइएको यो स्थान कुनै समय अतिक्रमणमा परेको थियो। कुनै वेला राष्ट्रिय वन क्षेत्र रहेको यस स्थानलाई अतिक्रमण गरेर घर बनाउने प्रयास भइरहेको थियो। वन अतिक्रमण गरेर घर बनाउँदा वातावरणीय र आर्थिकसहित हरेक हिसाबले असर पर्ने भएपछि यहाँका स्थानीयले अतिक्रमण रोकेर तत्कालीन जिल्ला विकास समिति, जिल्ला वन कार्यालयलगायतबाट बिरुवा ल्याएर रोपे। र, यस क्षेत्रलाई गणेश सामुदायिक वन बनाइयो।

राजतन्त्र अन्त्यका लागि साबिक राप्ती अञ्चलबाटै जनयुद्धको सुरुवात भएको थियो। शान्ति स्थापना पनि अब राप्तीबाटै गर्नुपर्छ भन्ने सल्लाहले यहाँका नागरिकले यो वनलाई ‘राप्ती शान्ति उद्यान’ नाम दिएर काम अगाडि बढाए। ०५९ मा स्थानीय हरि रिजालको नेतृत्व र इन्जिनियर वासुदेव रिजालको रेखांकनपछि यहाँ पार्क निर्माणको काम अघि बढेको थियो। ‘त्यतिवेला जनयुद्ध उत्कर्षमा थियो। जनयुद्धको स्थल पनि साबिक राप्ती नै थियो,’ पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले भने, ‘त्यसैले साबिक राप्तीबाटै शान्तिको कामना गर्ने र पर्यटक पनि वृद्धि गर्ने उद्देश्यले त्यो पार्क निर्माण गरेका हौँ।’

अहिले यो पार्कमा पर्यटकको घुइँचो लाग्ने गरेको छ। यहाँ शान्तिका अग्रदूत मानिने गौतम बुद्धको मूर्ति पनि राखिएको छ। सो मूर्ति र वनजंगलसहितको सुन्दर वातावरणमा रमाउन पर्यटक आउने गरेका अध्यक्ष भण्डारीले बताए। ‘एउटा त यो ठाउँ आफैँ पनि सुन्दर छ। किनभने सामुदायिक वनमा छ यो पार्क,’ उनले भने, ‘त्यसमा पनि हामीले गौतम बुद्धको मूर्ति निर्माण गरेपछि झनै पर्यटकहरूको संख्या बढेको छ।’ उनका अनुसार दैनिक चार सयदेखि पाँच सयसम्म पर्यटकले अवलोकन गर्ने गरेका छन्।

विद्यार्थीलाई प्रवेशमा ५० प्रतिशत छुट छ भने अपांग, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। यसबाहेक अन्यले रु. ३० को टिकट काट्नुपर्छ। प्रवेश गरेलगत्तै गेटबाटै देखिने गौतमबुद्धको मूर्तिसहित सूर्यमुखी फूलले पर्यटकलाई स्वागत गरिरहेझैँ लाग्छ। अलिभित्र पसेपछि पानीको फोहोरा, कृत्रिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका चितुवा, बाँदर, उल्लु, खरायोका बच्चालगायतका जनवार देखिन्छन्। बालबालिकाका लागि पिङ, स्विमिङ पुललगायतका खेल सामग्री राखिएको चिल्ड्रेन पार्क पनि छ।

पार्कभित्र बनाइएको चिडियाखानामा मानिसको आक्रमणमा परी घाइते भएका जनावारलाई राख्ने गरिएको छ। बाहिरबाट ल्याउन महँगो पनि पर्ने भएकाले अहिले जिल्ला वन कार्यालयले यस्ता जनावारलाई यहाँ राख्ने गरेको छ। यो पार्कमा बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पालगायतका जिल्लाबाटसमेत पर्यटकहरू आउने गरेका छन्।