• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ ३ मंगलबार १९:३४:००
निर्वाचन

उदयपुरको कटारीमा स्थगित मतगणना सुरु, त्रियुगामा अझै अन्योल

२०७९ जेठ ३ मंगलबार १९:३४:००

विवादका कारण रोकिएको उदयपुरको कटारी नगरपालिकाको मतगणना सुरु भएको छ । कटारीका निर्वाचन अधिकृत राजकुमार राउतले मंगलबार पाँच बजेदेखि सुरु भएको बताए । निर्वाचन अधिकृत राउतका अनुसार मंगलबार बसेको सर्वदलीय बैठकले मतगणना गर्ने सहमति भएको थियो । उनले भने, ‘अहिले दलका प्रतिनिधिहहरू आउन थाल्नुभएको छ, अब मतगणना सुरु हुन्छ ।’

मतगणनास्थलमा सिसिक्यारा जडान गरिएको बताइएको छ । मतदानको दिन कटारी नगरपालिका–१० मा रहेको कालिका माध्यमिक विद्यालयमा भएको गोली काण्डले मतगणना रोकिएको थियो । केन्द्रमा मतदान सम्पन्न भएपछि मतपेटिका सिलबन्दी गर्नेक्रममा अराजक समूहले बुथ कब्जा गर्न खोजेको भन्दै प्रहरीको गोली चलाएको थियो । प्रहरीको गोली लागि एकको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए । त्यसपछि स्थानीयको अवरोधका कारण मतगणना सुरु हुन सकेको थिएन । 

यता, त्रियुगा नगरपालिका–१२ को जनप्रेमी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको विवादले त्रियुगाको मतगणना रोकिएको छ । वैशाख ३० मा भएको मतदानका क्रममा मतदान अधिकृतहरूले मनमौजी गरेको भन्दै उम्मेदवारहरूका प्रतिनिधिहरूले मतदान अधिकृतमाथि प्रश्न गरेपछि मतदान स्थगित भएको थियो । मतपेटिकामा परेको मतलाई सिलबन्दी गरेर जिल्लाको मुख्य निर्वाचन कार्यालयमा राखिएको जनाइएको छ । 

जिल्लाका सहायक मुख्य निर्वाचन अधिकृत दिलीप मगरले पुन: मतदान गर्ने वा त्यसैलाई गणना गर्ने भन्ने विषयमा कुनै पनि निर्णय नभएको बताए । ‘त्रियुगा नगरपालिकाको मतगणनाको विषयमा कुनै पनि टुंगो लागेको छैन,’ उनले भने ।