• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बागलुङ नगरपालिका—१२ मा स्वतन्त्रबाट वडाध्यक्षमा विजयी कोपिलामणि शर्मा । तस्विर : नयाँपत्रीका
२०७९ जेठ ३ मंगलबार १८:१२:००
निर्वाचन

कांग्रेसबाट पटक-पटक हारेका कोपिलामणि स्वतन्त्रबाट प्यानलसहित विजयी

२०७९ जेठ ३ मंगलबार १८:१२:००

जीवनभर नेपाली कांग्रेसको चारतारे झन्डा बोकेर हिँडे । ०४६ सालको आन्दोलनदेखि ६२-०६३ सालको जनआन्दोलनमा पनि चारतारे झन्डा बोकेर मुलक परिर्वतनका लागि अहोरात्र खटिए । जब निर्वाचन आउँथ्यो, नेपाली कांग्रेसले टिकट उनैलाई दिन्थ्यो । तर, बाग्लुङ नगरपालिका–१२, अमलाचौरका कोपिलामणि शर्माले आफ्नो पार्टीबाट कहिल्यै पनि चुनाव जितेनन् । यसपालि गठबन्धन हुन्छ, पार्टीले टिकट दिन्छ र आफ्नो जित सुनिश्चित हुन्छ भन्ने आशमा बसेका शर्माले पार्टीबाट टिकट पाएनन् । गठबन्धन गर्दा उनको वडा जनमाेर्चाको भागमा पर्यो ।  

०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट अमलाचौरको तत्कालीन गाविस अध्यक्षको उम्मेदवार बनेका शर्मा विजयी हुन सकेनन् । ०५४ को स्थानीय निकाय निर्वाचनमा जित नजिक पुगेका उनी नेकपा एमालेले मतपत्र च्यातेपछि पुनः निर्वाचन हुँदा पराजित भए । ०७४ को स्थानीय तह निर्वाचनमा भरतपुरमा मतपत्र च्यातिएपछि अमलाचौरको ०५४ को घटनाको खुब चर्चा भएको थियो । मुलुक नयाँ संरचनामा प्रवेश गरेपछि ०७४ मा कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका उनी नेकपा एमालेका गुरुदत्त पाठकसँग पराजित भए । 

अनि उनले स्वतन्त्र उम्मेदवारी दिए...
बाग्लुङमा पाँचदलीय गठबन्धन गर्दा भागबन्डामा अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेको थियो । अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेपछि त्यहाँ स्थानीय कांग्रेस कार्यकर्ताले वडा पार्टी सभापतिसमेत रहेका शर्मालाई अध्यक्षको रूपमा अगाडि सारेर स्वतन्त्र उम्मेदवारीको प्यानल नै दर्ता गरेका थिए । कांग्रेसको सिंगो वडा समितिले नै निर्णय गरेर आफू वडाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेको भन्दै चर्को दबाबका बीच पनि शर्माले उम्मेदवारी फिर्ता गरेनन् ।

उनीसहित मुढा चिन्ह लिएर पाँचजना नै चुनावमा होमिए । अन्ततः सोमबार साँझ सकिएको मतगणनामा गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै वडाध्यक्ष पदमा विजयी भए । शर्माले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८०१ मत ल्याए । गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माल जम्मा १७८ मत ल्याए । 

शर्माको प्यानलै विजयी
उनको प्यानलबाट महिला सदस्यमा माया नेपाली ११५३, दलित महिला सदस्यमा मीनाकुमारी विश्वकर्मा १३११ र खुला सदस्यहरूमा ढुण्डीराज लामिछाने १३४९ र महानन्द शर्मा १३४६ मतसहित विजयी भएका छन् । आफू स्वतन्त्र भएपछि सबै दलका कार्यकर्ताले सहयोग गरेका कारण आफू निर्वाचित भएको उनले बताए । ‘मलाई पार्टीले टिकट दिएन, वडाका सबै कांग्रेसजनको आग्रहमा स्वतन्त्र उम्मेदवार बने,’ उनले भने, ‘मैले पदमा बसेर जनताको सेवा गर्न पाएको थिइनँ । सबैको साथ र सहयोगबाट जनताको सेवा गर्छु ।’ 

शर्माले स्वतन्त्र उम्मेदवारी फिर्ता नगरे स्वतः सदस्यता खारेज हुने चेतावनी दिए पनि नेपाली कांग्रेसका जिल्ला तहका नेताहरू शर्माको विजयी र्यालीमा देखिएका छन् । अमलाचौरका कांग्रेस नेताकार्यकर्ताले योगदान र त्यागको जित भएको भन्दै सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन् । 

‘मैले धेरैपटक हारेंं, कहिले मतपत्र च्यातेर हराइयो,’ शर्माले भने, ‘जनताको आवश्यकतालाई मध्यनजर गरेर आवश्यकताको आधारमा योजना निर्माण गरी काम गर्छु ।’ उनले वडामा सुशासन कायम गर्ने र भ्रष्टाचारमुक्त बनाउने बताए । ‘धेरै बजेट ल्याउनका लागि पार्टी र पहुँच त चाहिएला तर, वडामा जति आउँछ त्यसैलाई पनि राम्रोसँग उपयोग गर्न सकियो भने धेरै काम गर्न सकिन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।