• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ३ मंगलबार ०७:५६:००
निर्वाचन

मोलुङमा गठबन्धन पराजित गर्दै एमालेका उत्तम र उर्मिला विजयी 

२०७९ जेठ ३ मंगलबार ०७:५६:००

ओखलढुंगाको मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित भएका हुन् । 

एमालेका राईले चार हजार ५२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले तीन हजार चार सय ६२ मत पाएका छन् । विजयी राईको मतान्तर पाँच सय ९० छ । ०७४ को निर्वाचनमा एमालेले २६ मतले अध्यक्ष पद जितेको थियो ।

उपाध्यक्षमा खतिवडाले प्रतिस्पर्धीलाई दोब्बरभन्दा बढी मतान्तरले पछि पार्दै उपाध्यक्ष जितेकी हुन् । खतिवडाले चार  हजार दुई सय ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका कुलबहादुर खत्रीले दुई हजार ९६ मत पाए । खतिवडाले दोब्बरभन्दा बढी दुई हजार एक सय चार  मतले जित्न सफल भइन् ।

जिल्लामा सबैभन्दा धेरै मतान्तरमा विजयी हुने खतिवडा पहिलो जनप्रतिनिधि हुन् । मोलुङका वडामा पनि एमालेको बहुमत छ । ८ मध्ये पाँच वडा एमाले र तीन वडा नेपाली कांग्रेसले जितेको छ । सोही गाउँपालिकामा माओवादीले एउटा वडा पनि जित्न सकेन । 

एमालेबाट वडा नम्बर १ मा कमल बानियाँ, ३ मा मित्रबहादुर सुनुवार, ६ मा कमल तामाङ, ७ मा हेमबहादुर सुनुवार र ८ मा सुधीर राई विजयी भएका छन् ।कांग्रेसबाट वडा नम्बर २ मा टंक कार्की, ४ मा भोलाराज राई र ५ मा गोपी कार्की विजयी भएका छन् ।