• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
चितवनको भरतपुर महानगरपालिकाको मत गणना गर्दै गणक । तस्बिर : विवेक पोखरेल/नयाँ पत्रिका
टेकराज थामी काठमाडौं
२०७९ जेठ ३ मंगलबार ०७:४६:००
मुख्य समाचार

विकट गाउँमा भन्दा ठूला सहरमा धेरै मत बदर

टेकराज थामी काठमाडौं
२०७९ जेठ ३ मंगलबार ०७:४६:००

वीरगन्ज महानगरमा उपमेयरको ५६.४१ र विराटनगरमा ४४.१२ प्रतिशतसम्म बदर भए मत

दुर्गम र विकट गाउँभन्दा तुलनात्मक रूपमा ‘शिक्षित र बुझ्ने’ मतदाता रहेको मानिने महानगर र सहरी पालिकाहरूमा बदर मतको दर भने धेरै देखिएको छ । विकट हिमाली र पहाडी धेरै पालिकामा तीन प्रतिशतभन्दा कम मत बदर भएका छन् । तर, देशका महानगरहरूमा बदर मतको दर ५० प्रतिशतभन्दा बढीसम्म छ । 

गुल्मीको विकट गाउँपालिका गुल्मीदरबारमा १२ हजार एक सय ४८ मत खसे । ७१ मात्रै बदर भए, जुन ०.५८ प्रतिशत हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा पनि ०.९६ प्रतिशत मत मात्रै बदर भए । खुम्बुमा तीन हजार आठ सय ३२ मत खसेको थियो, जसमध्ये ३७ मत बदर भए ।

सुदूरपश्चिमी पहाडी जिल्ला बझाङको विकट थलरा गाउँपालिकामा पनि २.१७ प्रतिशत मत मात्रै बदर भए । यहाँ खसेका ६ हजार आठ सय ८८ मध्ये एक सय ५० मत मात्रै बदर भए । त्यस्तै, हिमाली जिल्ला मनाङका चामे, नार्पाभूमि र मनाङ डिस्याङ गाउँपालिकामा पनि बदर मतको दर न्यून नै छ । डिस्याङमा खसेका एक हजार ६ सय ६७ मतमध्ये ५० मत मात्रै बदर भए, जुन २.९९ प्रतिशत हो । त्यस्तै, चामे र नार्पाभूमिमा तीन–तीन प्रतिशत मत बदर भए । चामेमा खसेका ६ सय १० मध्ये १९ र नार्पाभूमिमा खसेका तीन सय चारमध्ये १० मत बदर भएका छन् ।

तर, पर्साको वीरगन्ज महानगरपालिकामा गणना गरिएका मतमध्ये मेयरमा २६.५८ र उपमेयरमा ५६.४१ प्रतिशत मत बदर भएका छन् । आइतबार साँझसम्म यहाँ १० हजार चार सय ८१ मत गणना गरिएको थियो । जसमध्ये मेयरमा दुई हजार सात सय ८६ र उपमेयरमा पाँच हजार नौ सय १३ मत बदर भएका छन् । 

त्यस्तै, विराटनगर महानगरपालिकामा आइतबार दिउँसोसम्म गणना भएका १६ हजार चार सय ८१ मतममध्ये मेयरमा पाँच हजार एक सय ४६ र उपमेयरमा सात हजार दुई सय ११ मत बदर भएका छन् । यो बदर मतको संख्या मेयरमा ३१.४८ र उपमेयरमा ४४.१२ प्रतिशत हो । 

कैलालीको धनगढी उपमहानगरमा पनि उपमेयरमा ४०.४७ प्रतिशतसम्म मत बदर भएका छन् । आइतबार साँझसम्म ११ हजार एक सय २९ मत गणना हुँदा उपमेयरमा चार हजार पाँच सय चार मत बदर भएका थिए । त्यस्तै, मेयरमा दुई हजार दुई सय १२ मत बदर भएका छन्, जुन १९.८७ प्रतिशत हो । 

काठमाडौं महानगरपालिकामै पनि १७ हजार आठ सय आठ मत गणना गर्दा पाँच सय ९६ मत पूर्ण रूपमा बदर भएका छन्, जुन ३.३४ प्रतिशत हो । काठमाडौंमा मेयर र उपमेयरमा बदर भएका मतको परिणाम भने निर्वाचन अधिकृतले सार्वजनिक गरेका छैनन् । 

निर्वाचन आयोगका पूर्वसचिव गोपीनाथ मैनालीले सहरी क्षेत्रमा उम्मेदवारको संख्या धेरै भएको र सोहीअनुसार मतपत्र तयार गरिँदा बदर मतको संख्या पनि धेरै हुने बताए । ‘यसपटक विकट भनिएका स्थानीय तहमा भन्दा सहरमा धेरै मत बदर हुनेछन् । किनकि विकटमा उम्मेदवार कम छन् । तर, सहरमा त्यस्तो छैन । मतमत्र सबैलाई हुने गरी तयार गरिएका छन्, जुन हेर्दा मतदाता कन्फ्युजमा पर्छन् । त्यसकारण मत गलत ठाउँमा पर्न जान्छ र बदर हुन्छ,’ उनले भने । 

निर्वाचन आयोगले यसपटक मतदाता शिक्षामा मुलुकभर करिब नौ करोड खर्च गरेको थियो । जब कि ०७४ को निर्वाचनमा मतदाता शिक्षाकै लागि ७५ करोड रुपैयाँभन्दा धेरै रकम खर्च भएको थियो । पूर्वसचिव मैनालीले यसपटक मतदाता शिक्षा कम भएका कारण पनि सहरी क्षेत्रमा धेरै मत बदर हुने बताए । 

यसपटक बदर मतको दर ६ देखि ७ प्रतिशत पुग्न सक्ने मैनालीको आकलन छ । ‘यो निर्वाचनमा विगतमा जस्तो मतदाता शिक्षा कार्यक्रम नै भएन । बजेट अभावमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्न सकेन भन्ने छ । विगतका वर्षहरूमा सरदर ४ देखि ५ प्रतिशत मत बदर हुन्थे, यसपटक बढेर ६ देखि ७ प्रतिशत पुग्न सक्छ,’ उनले भने । 

यसपटकको निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदातामध्ये एक करोड १८ लाखले मतदान गरेका छन् । यो ६६ प्रतिशतभन्दा माथि हो । निर्वाचन आयोगको तथ्यांकअनुसार प्रत्येक पटकको निर्वाचनमा खसेको कुल मतको ४ देखि ५ प्रतिशतमत बदर हुने गर्छन् । ०७४ को स्थानीय तह निर्वाचनमा ३.४४ प्रतिशत मत बदर भएका थिए । सो निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदातामध्ये ७४.५२ प्रतिशत मत खसेको थियो ।