• वि.सं २०८१ बैशाख ५ बुधबार
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १ आइतबार १७:३६:००
निर्वाचन

भक्तपुरमा फराकिलो अन्तरले नेमकिपा अगाडि, तीनवटा वडामा प्यानल नै विजयी 

नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १ आइतबार १७:३६:००

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अन्य पार्टीका उम्मेदवारको तुलनामा ठूलो मतान्तरले अग्रता लिएको छ। नगरपालिकाका तीनवटा वडामा मतगणना गरिसक्दा  नेमकिपाका सुनिल प्रजापतिले ११ हजार चार सय १६ मत प्राप्त गरेका छन् । तीनवटा वडाको १८ हजार पाँच सय ५६ मत गणना गर्दा उनले झन्डै दोब्बर मत ल्याएका हुन्। नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार रामप्रसाद कासुलाले दुई हजार ३६ मत प्राप्त गरेका छन्। 

त्यस्तै, एमालेका रवीन्द्र लाछिमसूले एक हजार तीन सय ३४ मत ल्याएका छन्। यी दुई पार्टीको तुलनामा नेमकिपाले ठूलो मतान्तरले अग्रता लिएको छ। भक्तपुर नगरपालिकाको उपमेयरतर्फ नेमकिपाकै रजनी जोशीले ११ हजार ५९५ मत ल्याएकी छिन् । समाजवादीबाट उपमेयरका उम्मेदवार ओमचरण अमात्यले एक हजार चार सय ५२ मत ल्याएका छन्। 

भक्तपुर नपामा ४३ हजार तीन सय ५९ हजार मत खसेको थियो। तीनवटा वडा १, २ र ३ मा मत गणना गर्दा नेमकिपाको प्यानल नै विजयी भएको छ। भक्तपुरमा विगतमा झैँ नेमकिपाले यसपटक पनि एकल जित दोहोर्याउने अनुमान गरिएको छ। यसअघि २०७४ को निर्वाचनमा मेयरदेखि वडासदस्यसम्म नेमकिपाले नै जितेको थियो। यसपटक पनि सोही नतिजा आउने आकलन गरिएको छ।