• वि.सं २०७९ श्रावण ३० सोमबार
  • वि.सं २०७९ श्रावण ३० सोमबार
  • Monday, 15 August, 2022
२०७९ बैशाख २२ बिहीबार १०:११:००
समाचार

झडपमा कांग्रेस उम्मेदवार घाइते

२०७९ बैशाख २२ बिहीबार १०:११:००

रोल्पाको माडी गाउँपालिका– ३ तालाबाङमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच गएराति झडप भएको छ ।  

झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए । उनलाई  उपचारका लागि दाङतर्फ लगिएको छ । 

बाटोमा डाँगी चढेको गाडी नियन्त्रणमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताए ।  

झडपलगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । ‘अहिले अवस्था सामान्य छ,’ उनले भने । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ ।