• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १ शनिबार २१:३४:००
प्रवास

एनआरएनएको चुनाव गराउन घलेको नेतृत्वमा समिति गठन

नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १ शनिबार २१:३४:००

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषद्का अध्यक्ष डा शेष घलेले पाएका छन् । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउनसमेत नसकेको एनआरएनएको १०औँ महाधिवेशन तथा आइसिसीको नयाँ नेतृत्व चयनका लागि संघले घलेको संयोजकत्वमा सातसदस्यीय समिति गठन गरेको हो ।

 आज भएको संघको ८१औँ आइसिसी पूर्ण बैठकले घलेको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको संघले विज्ञप्तिमार्फत जनाएको छ । समितिमा पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष कुमार पन्त पनि सदस्य रहेका छन् ।  समितिको सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन् । 

बैठकले संघको १०औँ महाधिवेशन तथा आइसिसी निर्वाचनको कार्यतालिका पनि तय गरेको छ । आगामी २८ फेब्रुअरीमा नयाँ आइसिसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषदमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ । महाधिवेशन प्रतिनिधिको चयन विधानसम्मत र विगतको अभ्यासअनुसार चयन गर्ने र त्यसको निर्क्याैल घले नेतृत्वको समितिको उच्चस्तरीय समितिले गर्ने सहमति भएको छ।