• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी मनिला
२०७८ माघ १ शनिबार २०:३७:००
विश्व

फिलिपिन्सले भारतीय सुपरसोनिक मिसाइल किन्ने

२०७८ माघ १ शनिबार २०:३७:००

भारतले फिलिपिन्सलाई ब्राह्मोस सुपरसोनिक क्रुज मिसाइल निर्यात गर्ने भएको छ। फिलिपिन्सले एन्टी सिप मिसाइल प्रणालीका लागि योजनाबद्ध अधिग्रहणका लागि बजेट विनियोजनसमेत गरिसकेको छ। 

फिलिपिनी पत्रिका द इन्क्वाएररका अनुसार फिलिपिन्स सरकारको बजेट विभागले प्रारम्भिक बजेट प्रबन्ध भएको जनाएको छ। सरकारले २७ डिसेम्बरमा विशेष बजेट विनियोजन आदेश जारी गरेको छ। दुईवटा आदेशअनुसार पहिलोमा एक अर्ब ९० करोड भारुबराबर तथा दोस्रोमा २ अर्ब २४ करोड भारुबराबरको स्थानीय मुद्रा विनियोजनसम्बन्धी आदेश फिलिपिन्स सरकारले जारी गरेको छ। भारतसँग त्यहाँको राष्ट्रिय रक्षा विभागले सैन्य हार्डवेयरका लागि सम्झौतालाई अन्तिम रूप दिने भनिएको छ।

दुई सरकारबीच जिटुजी सम्झौता हुन लागेको भारतीय अनलाइन पत्रिका द प्रिन्टले जनाएको छ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेको कार्यकाल ६ महिना मात्रै बाँकी रहेका वेला भारतसँग सैन्य उपकरण खरिद गर्न लागेका हुन्। फिलिपिन्स सरकारले त्यहाँको नौसेनाका लागि कोरियाबाट सैन्य उपकरण खरिदका लागि स्थानीय २८ अर्ब मुद्रा विनियोजन गरेको छ।

भारतीय मिडियाका अनुसार ब्रह्मोस भारत र रुसको संयुक्त उत्पादन हो। यो विश्वको एक सुपरसोनिक मिसाइल हो, जो आवाजको तीन गुणा गतिमा उड्ने विज्ञहरू बताउँछन् । तटीय रक्षा तथा भूमि सुरक्षाका लागि यो सक्षम रहेको मानिन्छ। भारतले फिलिपिन्सलाई हतियार खरिदका लागि १० करोड डलर ऋण दिने प्रस्ताव गरिसकेको छ।