• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ७ बुधबार ११:०१:००
अर्थ

विद्युत् माग करिब तीन सय मेगावाट बढ्यो

नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ७ बुधबार ११:०१:००

खपत बढाउन चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग करिब तीन सय मेगावाट बढेको छ । गत वर्षको तुलनामा यो वर्ष विद्युत्को उच्च माग (पिक डिमान्ड) बढेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ । आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरूलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति प्राधिकरणले लिएको छ ।

विद्युतीय चुलो, एयर कन्डिसनलगायत विद्युत्बाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, विद्युत्बाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युत्लगायतका कारणले दैनिक रूपमा खपत बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिमबाट सिमेन्ट उद्योग होङ्सीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएकाले पनि माग बढेको थियो । 

विद्युत्को माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवै बढिरहेको छ । उदाहरणका लागि २७ मंंसिरमा प्रणालीमा विद्युत्को उच्च माग १५ सय ३९ मेगावाट थियो । गत वर्षको सोही दिन १२ सय १७ मेगावाट विद्युत् माग थियो । यस आधारमा विद्युत्को पिक डिमान्ड गत वर्षको सोही दिनको तुलनामा २६ दशमलव ५ प्रतिशत वृद्धि भएको छ । 

मंसिर २७ गतेको प्रणालीको पिक डिमान्ड पूर्तिका लागि प्राधिकरणका विद्युत्गृहहरूबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युत्गृहहरूबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युत्गृहहरूबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो । 

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वातै बढेको छ । काठमाडौं उपत्यकाको विद्युत्को अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गत वर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमान्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । 

ऊर्जाको मागका आधारमा २७ मंसिरमा विद्युत् खपत दुई करोड ७२ लाख युनिट थियो । गत वर्षको सोही दिन २ करोड ११ लाख युनिट थियो । ऊर्जाका आधारमा विद्युत् खपत गत वर्षको तुलनामा २८ दशमलव ६५ प्रतिशत बढी हो । 

३० प्रतिशतको हाराहारीमा पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि : घिसिङ

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएको बताए । ‘घरायसी प्रयोजनका लागि इन्डक्सन चुलो तथा घरमा एयर कन्डिसनको प्रयोग बढिरहेको छ, विद्युतीय सवारीसाधनको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ, औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘विद्युत्को माग अहिलेकै रूपमा वृद्धि भयो भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको छ ।’

घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन तथा अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताए । कार्यकारी निर्देशक घिसिङ आफैँले मुलुकभित्रका मुख्य औद्योगिक करिडोरको अनुगमन भ्रमण गरी उद्योगीहरूलाई चाहिएजति विद्युत् लिन आग्रह गर्दै आएका छन् । 

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिटो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ । 

प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरिरहेको छ । मुख्य रूपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ ।