• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ पौष ७ बुधबार १०:२३:००
अर्थ

रसुवा भन्सारमा ८८ प्रतिशतभन्दा बढी राजस्व संकलन

२०७८ पौष ७ बुधबार १०:२३:००

रसुवा भन्सार कार्यालय टिमुरेले मंसिरमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा कार्यालयले ५४ करोड ७१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले एक अर्ब ३ करोड राजस्व संकलन गरेको छ । 

कार्यालयले गत वर्ष मंसिरमा ३६ करोड ९८ लाख राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष ६६ करोड ८ लाख ८९ हजार बढी हो । रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तशुल्क, भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ । 

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको दुई वर्ष पुग्न लागेको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन । 

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । ०७६ माघ १५ देखि ०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ ।