• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष ७ बुधबार १०:१८:००
अर्थ

तनहुँमै पहिलोपटक व्यावसायिक मेवाखेती सुरु

२०७८ पौष ७ बुधबार १०:१८:००

व्यास नगरपालिका–१३ बेलबासका कृषक वसन्त आलेले ३५ रोपनी जमिन भाडामा लिएर व्यावसायिक मेवाखेती सुरु गरेका हुन् । ३५ रोपनी जग्गामा करिब ३५ सय मेवाको बिरुवा ल्याएर रोपिएको उनले जानकारी दिए । ‘पहिलोपटक भएकाले मेवाखेती राम्रो हुन्छ कि हुँदैन भन्ने डर लागेको थियो । त्यसैले बिरुवा पनि थोरै नै लगाइयो । अहिले मेवा लटरम्मै फलेको छ । खाँदा पनि मिठो छ ।’ उनले भने, ‘बोटमा पाकेको मेवा स्थानीय बजारमा बिक्री गरेको छु । बजारभाउ पनि राम्रै पाएको छु । एकपटक मेवाको बिरुवा रोपेर हेरौँ भन्ने लागेर लगाएको हुँ, राम्रै फल्दोरहेछ ।’ 

पछिल्लो समय युवाहरू कृषितर्फ आकर्षित हुन थालेसँगै जिल्लामै पहिलोपटक व्यावसायिक मेवाखेती सुरु गरिएको हो । एउटै मेवा दुईदेखि तीन किलोसम्मको छ । एउटै बोटबाट एक सयभन्दा बढी मेवा फल्ने अनुमान छ । फल राम्रो लाग्ने र बिक्रीका लागि १५ दिनसम्म टिकाउ हुने भएकाले पनि मेवाखेती गरेको उनले बताए । स्थानीय जातको मेवा दुई–तीन दिनमै गल्ने भएकाले नयाँ जातको मेवाको बिरुवा लगाएको उनको भनाइ छ । ‘पहिलोपटक अनुभव लिँदै छु, कस्तो फल दिन्छ हेरौँ भन्ने लागेको थियो, राम्रो भयो । अब अझ बढी मेवाखेती गर्ने सोच बनाएको छु,’ उनले भने ।

भारतमा उत्पादित मेवाले बजार लिइरहेको हुँदा अब स्थानीय मेवा भएपछि आम्दानी पनि बढ्ने र आयात घटाउन मद्दत पुग्ने कृषि ज्ञान तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘नेपालको हावापानी राम्रो भएकाले मेवा स्वादिलो हुनुका साथै जमिनको पनि सदुपयोग भएको छ,’ उनले भने, ‘मेवाखेतीको स्थलगत अध्ययन गरेर प्राविधिक ज्ञानसमेत कृषकलाई प्रदान गरिएको छ ।’ 

प्रतिरोपनी वार्षिक एक हजार भाडा दिने गरी जमिन भाडामा लिएर मेवाखेती गरेका उनले आम्दानी पनि लिन थालेका छन् । दैनिक दश–पन्ध्र हजारको मेवा बिक्री गर्दै आएका छन् । मेवाखेतीका लागि करिब दश लाख रुपैयाँ खर्च भइसकेको उनले बताए ।

१० वर्षसम्मका लागि भाडामा लिइएको जग्गामा उनले बाख्रा तथा पाडा पाल्नका लागि खोर–गोठ निर्माण गर्ने योजना बनाएका छन् । मेवासँगसँगै उनले खसीबाख्रा र कुखुरासमेत पाल्ने तयारी गरेका छन् । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले आम्दानीको स्रोत बढाउन युवापिँढी कृषितर्फ आकर्षित हुँदै गएकोमा खुसी लागेको बताए । ‘पछिल्लो समय युवाहरू विदेश जानुभन्दा स्वदेशमै कृषि गरी आर्थिक स्तर उकास्न लागेका छन् । त्यस्ता कृषकलाई नगरपालिकाले पनि सक्दो सहयोग गर्नेछ,’ उनले भने ।