• वि.सं २०७९ जेठ १३ शुक्रबार
  • वि.सं २०७९ जेठ १३ शुक्रबार
  • Friday, 27 May, 2022
कञ्चनपुरको खाद्य संस्थानमा बिक्रीका लागि ल्याइएको धान नबेचिएपछि किसान मारमा । तस्बिर : नयाँ पत्रिका
मोहन विष्ट कञ्चनपुर
२०७८ पौष ७ बुधबार १०:०८:००
अर्थ

किसानलाई न मौसमले साथ दियो, न सरकारले 

मोहन विष्ट कञ्चनपुर
२०७८ पौष ७ बुधबार १०:०८:००

खाद्य संस्थानले धान नकिनेपछि किसान थप मारमा

यस वर्ष कञ्चनपुरका किसानलाई संकटमाथि संकट आइपरेको छ । खेतीको समयमै बिउबीजन, मलखाद नपाइने, पाकेको अन्न भिœयाउने वेलामा पानीले सखाप पार्ने तथा भित्रिएको अन्न खाद्य संस्थानले नकिनिदिएपछि किसानहरू संकटमा परेका छन् । 

धानखेतीका वेला समयमै मलखाद बिउबीजन पाउन दुःख पाएका किसानलाई पाकेको धान भित्र्याउने समयमा अविरल वर्षाले झन् डुबायो । वर्षाले साना किसानको धान भिजाउनुका साथै बगाइदिएपछि उनीहरू वर्षभरि गुजारा चलाउनै संकटमा छन् । मझौला तथा ठूला किसानले भिजेको धान जेनतेन गरेर सुकाएर दसैँ–तिहार खर्च जुटाउन सस्तोमै बेचिदिए ।

सरकारी संस्था नेपाल खाद्य संस्थानले समयमै धान खरिद नगरेपछि किसान निकै सस्तोमा स्थानीय व्यवसायीलाई बेच्न बाध्य भए । मंसिर अन्तिम अर्थात् गहुँखेतीको सिजनमा धान किन्न सुरु गरेको संस्थानले फेरि धान खरिदमा आलटाल गरिरहेको छ । सरकारले प्रतिक्विन्टल दुई हजार सात सय ५२ रुपैयाँ तोकेको छ । त्यही दरमा खाद्य संस्थान महेन्द्रनगरले मंसिर अन्तिम सातादेखि खरिद सुरु गरेको छ । हरेक शुक्रबार धान खरिदका लागि कुपन वितरण गर्दै आएको संस्थानले अहिले धान भिजेको बहानाबाजी गरेर खरिदमा बखेडा झिकेको छ । 

भीमदत्त नगरपालिका–१२, ऐरीका किसान पार्वती पन्तले धान बेच्नका लागि खाद्य संस्थानबाट कुपन ल्याइन् । कुपन पाउनसमेत तछाडमछाड गरेकी उनले पाँच दिन बितिसक्दा पनि संस्थानलाई धान बेच्न पाएकी छैनन् । ‘कुपन ल्याउन पनि हामीले युद्ध नै जित्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘पाँच दिनसम्म पनि पालो आएको छैन, धान किन्न छाड्यो भन्ने खबर पाएँ ।’ पन्तसँग झन्डै १५ क्विन्टल धान छ । धान बेचेरै खर्च जोहो गर्दै आएको पन्तको परिवार संस्थानले धान खरिद नगरेपछि चिन्तामा छ । ‘धान बेच्नका लागि ४–५ हजार भाडा तिरेर गएँ, तर पाँच दिनपछि पनि कम्पनीले खरिद गरिदिएन,’ उनले भने, ‘किसानले उत्पादन गरेको धान नकिन्ने भए किन कुपन वितरण गरेको हो, यसको जवाफ सरकारले दिनुपर्छ ।’ 

भीमदत्त नगरपालिका–१९, बाँगफाँटाका किसान कर्णबहादुर विष्टले खाद्य संस्थानले धान खरिद गर्ने भनेपछि कुपन लिएर दुई दिनदेखि कार्यालयमा धान पुर्‍याए पनि बेच्न सकेका छैनन् । ‘मैले पनि भाडा तिरेर धान बेच्नका लागि कार्यालय पुर्‍याएँ,’ उनले भने, ‘कार्यालयमा पुगेपछि भिजेको धान भन्दै किन्न छाड्यो ।’ उचित मूल्य पाउने आसमा धान बेच्नका लागि ल्याए पनि संस्थानले नकिनिदिएपछि आफूहरू मारमा परेको उनले बताए । 

नेपाल खाद्य संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कञ्चनपुरका प्रमुख तपेन्द्र उपाध्यायले भिजेको र मापदण्ड नपुगेको धान बेच्न ल्याउन थालेपछि सोमबारदेखि धान खरिद बन्द गरिएको बताए । ‘हामीलाई माथिबाट परिपत्र भएअनुरूप धान खरिद गरिरहेका छौँ,’ उनले भने, ‘भिजेको धान बेच्न ल्याउन थालेपछि रोकेका छौँ ।’ खराब धान खरिद नगर्न माथिबाट पत्राचार भएकाले अहिले हाम्रो यहाँ आएको धानको नमुना पठाएर निर्देशनको पर्खाइमा रहेको उनले बताए ।

६ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका कञ्चनपुर शाखाले ५ सय २७ क्विन्टल मात्रै धान खरिद गरेको छ । कञ्चनपुरमा यस वर्ष ५६ हजार ६०२ हेक्टर जमिनमा धानखेती गरिएको छ । आफैँले उत्पादन गरेको धान बेच्नसमेत सास्ती खेप्नुपर्ने अवस्था आएपछि किसान आन्दोलनको अवस्थामा पुगेका छन् ।