• वि.सं २०७९ जेठ १४ शनिबार
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ७ बुधबार ०९:४०:००
मुख्य समाचार

नेपालमा कोरोना प्रभाव : दुईदेखि चार वर्ष उमेरका प्रत्येक पाँचमध्ये एक बालबालिका विकासको लयभन्दा बाहिर

नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ७ बुधबार ०९:४०:००

कोभिड महामारीले मुलुकका दुईदेखि चार वर्ष उमेर समूहका प्रत्येक पाँच बालबालिकामध्ये एक विकासको लयभन्दा बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको युनिसेफ (युनाइटेड नेसन चिल्ड्रेन फन्ड)ले गरेको पछिल्लो सर्भेले यस्तो देखाएको हो । यसका लागि युनिसेफले मुलुकभरका दुई हजार आठ सय ५३ घरपरिवारलाई टेलिफोनमार्फत अन्तर्वार्तामा ल्याएको थियो । 

गत अगस्टमा गरिएको यो सर्वेक्षण विधिलाई युनिसेफले ‘प्रारम्भिक बाल विकास सूचकांक (इसिडिआई) भनेको छ । विशेष गरी महामारीले बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थामा असर गरेको तथ्यांकले देखाएको छ । ‘कोभिड–१९ महामारीको बीच, नेपालका दुईदेखि चार वर्ष उमेर समूहका प्रत्येक पाँचजना बालबालिकामध्ये एक विकासको लयभन्दा बाहिर रहेको देखिएको छ । महामारीले विशेष गरी बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई असर पारेको छ,’ युनिसेफले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युनिसेफका अनुसार गाउँमा बस्ने, आर्थिक अवस्था न्यून भएका, अशिक्षित वा न्यून शिक्षास्तर भएका अभिभावकको संरक्षणमा रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी नहुने बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिममा छन् । प्रारम्भिक बालशिक्षामा भाग लिने बालबालिकामध्ये पनि निजीका  भन्दा सरकारी प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिका विकासको लयभन्दा बाहिर हुने अधिक जोखिम रहेको युनिसेफले जनाएको छ ।

अनुसन्धानमा किताब पढ्ने, कथा सुनाउने, गीत गाउने, घुम्न जाने, वस्तुहरूका नाम भन्ने, गन्ने, वा चित्र कोर्नेजस्ता चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलाप बालबालिकाको विकास र सिकाइका लागि महत्वपूर्ण रहेको देखिएको छ । बालबालिको सिकाइ विकासमा अभिभावकको संलग्नता महामारीपूर्वभन्दा पछि कम संलग्नता रहेको पनि अनुसन्धानले खुलासा गरेको छ । 

सामान्य अवस्थामा फर्केपछि आमाहरूको संलग्नतामा सुधार
अक्टोबरमा गरिएको थप सर्वेक्षणअनुसार कडा निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्केसँगै आमाहरूको संलग्नतामा सुधार भएको देखिएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, सामाजिक मानक कायम राख्दै, बुबाहरूको अभिभावकत्वको संलग्नता भने न्यून (६ प्रतिशत) नै रहेको देखिएको छ ।

सर्वेक्षणअनुसार आधा बालबालिका पूर्वप्राथमिक तहमा भर्ना भएको पाइएको छ । तर, विद्यालय बन्द हुँदा ३४ प्रतिशत बालबालिका वैकल्पिक विधिबाट सिकाइमा संलग्न भएका थिएनन् । धेरैजसो बालबालिकाको घरमै ट्युसनमा पहुँच थियो । जब कि अनलाइन कक्षा, मोबाइल फोनबाट हुने शिक्षण, रेडियो, टिभी, दूर शिक्षणजस्ता सरकारको आपत्कालीन कार्ययोजनाद्वारा निर्दिष्ट वैकल्पिक सिकाइका माध्यम कम प्रयोग भएका थिए । 

रेडियो, टिभी र टेलिफोनमा आधारित शिक्षण सिकाइजस्ता न्यून–प्रविधिसहितका समाधान पनि कम मात्रै प्रयोग भए । अनलाइन कक्षाजस्ता उच्च–प्रविधिसहितका समाधान निजी प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिकाबीच मात्र प्रयोगमा आयो । कम–प्रविधिसहितका समाधान र उच्च–प्रविधिसहितका समाधानमा असमान पहुँचले गर्दा निजी प्रारम्भिक बालशिक्षामा र अन्य बालबालिका बीचको विकासात्मक अन्तर देखिएकाले यस्तो भएको युनिसेफले जनाएको छ ।