• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन अर्याल काठमाडौं
२०७८ पौष ७ बुधबार ०९:१५:००
अर्थ

तरलता अभावले ५० प्रतिशत घट्यो निर्माण सामग्रीको बिक्री

नवीन अर्याल काठमाडौं
२०७८ पौष ७ बुधबार ०९:१५:००

सिजनमै माग घटेपछि सिमेन्टको मूल्य बोरामा ५० र डन्डीको प्रतिकिलो ५ रुपैयाँले घट्यो

बैंकहरूमा चुलिएको तरलता अभाव र सरकारले विकास खर्च गर्न नसक्दा यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको छ । आवासीय घर, व्यावसायिक भवन र विकास आयोजनाहरू निर्माणमा सुस्तता छाउँदा सिजनमै निर्माण सामग्रीको खपत ५० प्रतिशतले घटेको व्यवसायीको भनाइ छ । बजारमा निर्माण सामग्रीको माग घटेपछि मूल्य पनि निरन्तर ओरालो लागेको सिमेन्ट तथा डन्डी उद्योगी विष्णु न्यौपानेले जानकारी दिए ।

अहिले अधिकांश सिमेन्ट तथा डन्डी उद्योगलाई उत्पादनको ५० प्रतिशत पनि बिक्री गर्न कठिन भइरहेको उनको भनाइ छ । ‘उद्योगीले मूल्य घटाएरै भए पनि आफ्नो उत्पादन घाटामा बिक्री गर्नुपर्ने अवस्था छ,’ नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्षसमेत रहेका न्यौपानेले भने, ‘अहिले सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँ र डन्डीको मूल्य प्रतिकिलो ५ रुपैयाँ घटेको छ ।’ 

माग घटेपछि सिमेन्टको मूल्य ५–७ प्रतिशतले घटिसकेको र अझै घट्ने क्रममै रहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । अहिले सिमेन्ट, डन्डीलगायत निर्माणजन्य सामग्री उद्योगीको अवस्था भयावह भइसकेको उनको गुनासो छ ।

अहिले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्टको उपभोक्ता मूल्य करिब ६ सय ७५ रुपैयाँ र पिपिसी सिमेन्टको मूल्य करिब पाँच सय ७५ रुपैयाँ छ । व्यवसायीका अनुसार, एक/डेढ महिनाअघि ओपिसी सिमेन्टको मूल्य ७ सय २७ रुपैयाँ र पिपिसी सिमेन्टको मूल्य ६ सय २५ रुपैयाँ हाराहारी थियो । यस्तै, डन्डीको उपभोक्ता मूल्य प्रतिकिलो एक सय पाँचदेखि एक सय १० रुपैयाँसम्म रहेकोमा अहिले घटेर एक सयदेखि एक सय पाँच रुपैयाँसम्म रहेको न्यौपानेले जानकारी गराए ।

नेपालमा निर्माण सामग्रीको खपत करिब ७० प्रतिशत आवास तथा कमर्सियल भवन निर्माणमा र ३० प्रतिशत विकास आयोजनामा हुने उद्योगी न्यौपानेको भनाइ छ । एकातिर कोभिड महामारीका कारण व्यक्तिगत आम्दानी पनि खुम्चिएको छ भने अर्कोतिर बैंकबाट ऋण लिएर घर बनाउनेहरूले पनि तरलता अभावका कारण रकम पाउन सकेका छैनन् । घर/भवन बनाउने अधिकांशले बैंकबाट ऋण लिने हुँदा तरलता अभावका कारण पछिल्लो समय आवास निर्माणमा सुस्तता छाएको हो । यसले निर्माण सामग्रीको बिक्री पनि आधाले घटेको छ । सरकारले विकास खर्च गर्न नसक्दा विकास आयोजनाका कामले पनि गति लिन सकेको छैन, जसकारण विकास आयोजनामा माग हुने निर्माण सामग्रीको खपत पनि घटेको व्यवसायीको भनाइ छ ।

गत वर्षको कात्तिक महिनाको तुलनामा यो कात्तिकमा बैंक तथा वित्तीय संस्थाबाट आवास निर्माणमा प्रवाह हुने कर्जा ५८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकका अनुसार, गत कात्तिक महिनासम्म आवास निर्माणमा प्रवाह भएको कुल कर्जा २ खर्ब २९ अर्ब रुपैयाँ रहेकोमा यो कात्तिकसम्म आइपुग्दा घटेर एक अर्ब ३२ अर्बमा सीमित भएको छ । 

‘निर्माण सामग्रीको बिक्री घट्नुमा तीन कारण मुख्य छन्,’ न्यौपानेले भने, ‘पहिलो कुरा, कोभिडले मान्छेको आम्दानी नै खुम्चिएको छ, दोस्रोमा बैंकले ऋण प्रवाह गर्नै रोकिसकेका छन् र तेस्रोमा सरकारले पनि विकास खर्च गर्न सकेन ।’ अहिले आधाभन्दा धेरै बैंकले तरलता अभावकै कारण ऋण प्रवाहमै रोक लगाइसकेका छन् । यसरी ऋण प्रवाहमा रोक लगाउँदा घर बनाउन लागेका ग्राहकहरू पनि प्रभावित बनेका छन् ।

यतिसम्म कि बैंकले स्वीकृत गरिसकेको घरकर्जाको पनि किस्ता दिन छाडिसकेको बताइन्छ । बैंकले तरलता अभावकै कारण प्रतिबद्धता गरेको ऋण पनि दिइरहेका छैनन् । धेरैले घर बनाउँदा अपुग रकम बैंकबाट कर्जा लिने गर्छन् । अर्थात्, बैंकले घरकर्जा दिने भएरै आफूसँग थोरै रकम भए पनि घर निर्माण सुरु गर्न कस्सिन्छन् । तर, पछिल्लो समय बैंकले ऋण नदिँदा व्यक्तिगत आवास, हाउजिङ, अपार्टमेन्ट, कमर्सियल भवन सबैको निर्माण सुस्ताएको डेभलपर कम्पनीको भनाइ छ ।