• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो।
२०७८ मङ्सिर १२ आइतबार १३:१०:००
समाचार

चितवन क्षेत्रका सडकमा अझै सहज भएन सवारी आवागमन

२०७८ मङ्सिर १२ आइतबार १३:१०:००

नेकपा एमालेको महाधिवेशनका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन क्षेत्रका सडकमा सहजै सवारी आवागमन हुन सकेको छैन। महाधिवेशनको भिडभाडले मंसिर १० गतेदेखि नै चितवनस्थित पूर्व–पश्चिम राजमार्ग अस्तव्यस्त छ। सडकनजिक कार्यक्रम आयोजना गरिँदा सडकमा भिडभाड बढेको हो। सडकका एमाले कार्यकर्ताको बाक्लो ओहोरदोहोरले लामो दूरीका सवारीसाधन आवागनमा प्रत्यक्ष अवरोध पुगेको ट्राफिक प्रहरीेले जनाएको छ।

मंसिर १० गते अत्यधिक भिडभाड भएपछि एम्बुलेसन्ससमेत घन्टौँ जाममा फसेको थियो। त्यसयता ट्राफिक व्यवस्थापनमा केही सहज भए पनि अवरोध कायमै छ। एमाले महाधिवेशनको बन्दसत्र हिजो शनिबारदेखि सुरु भएको छ। देशका विभिन्न जिल्लाबाट सयौँको संख्यामा एमाले कार्यकर्ता चितवन पुगेका छन्। राजनीतिक दल, नेता तथा कार्यकर्ताको ओहोरदोहोरका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको बताइएको छ।

साँघुरो सडकनजिकै कार्यक्रम आयोजना गरिँदा लामो दूरीका सवारी आवागमनमा अवरोध पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए। उनले मंसिर १० गते अत्यधिक जाम भए पनि अहिले केही सहज भएको बताए। उनले भने, ‘अहिले त्यति धेरै जाम छैन। भिडले गर्दा ट्राफिक व्यवस्थापन कठिन भएको हो। केही समय जाम भए पनि घन्टौँसम्म कुर्नुपर्ने अवस्था भने छैन।’

नेकपा एमालेको महाधिवेशनका कारण निर्माणाधीन अवस्थामा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामसमेत रोकिएको छ। अत्यधिक जाम र ओहोरदोहोर बढेकाले काम नै रोक्नुपरेको ठेकेदार कम्पनीले जनाएको छ।