• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७८ मङ्सिर १२ आइतबार १२:५५:००
समाचार

सर्लाहीका नौ पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

श्रवण थापा सर्लाही
२०७८ मङ्सिर १२ आइतबार १२:५५:००

सर्लाहीका नौवटा पालिकामा नेकपा (माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ। देशभर एकै साथ सुरु भएको अधिवेशनअन्तर्गत शनिबार सर्लाहीका नाै पालिकामा माओवादी केन्द्रको पालिका कमिटी गठन भएको हो।

२० पालिका रहेको सर्लाहीका १५ पालिकामा अधिवेशन सुरु भएको थियो। अधिवेशन सुरु गरेकामध्ये नाै पालिकाले सर्वसहमतिमा कमिटी गठन गरेका माओवादी केन्द्र सर्लाहीका जिल्ला संयोजक कमल बुढाथोकीले जानकारी दिए । ६ वटा पालिकामा सर्वसहमति हुन नसकेपछि अधिवेशन उद्घाटन गरेर स्थगित गरिएको छ। अन्य पाँचवटा पालिकामा भने, अधिवेशन प्रक्रिया नै अगाडि नबढेको बताइएको छ।

अधिवेशनलाई पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए। शनिबार गठन हुन नसकेका पालिकाहरुमा पनि छिट्टै सर्वसहमतिमा कमिटी गठन गरिने माओवादी केन्द्रका जिल्ला संयोजक बुढाथोकीले बताए। पार्टीको नीतिअनुसार प्रत्येक नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्य पालिका कमिटी गठन गरिएको बुढाथोकीले बताए। जिल्लाको सम्पूर्ण पालिकाहरूको पहिलो अधिवेशन हरेक हिसाबले समानुपातिक बनाउने प्रयास गरिएको उनको भनाइ छ। 

जिल्लाको हरिवन नगरपालिकामा अर्जुन पन्त, लालबन्दी नगरपालिकामा लेखराम जर्गा (अर्जुन), हरिपुर नगरपाकिलामा सुनील बुढाथोकी, बागमती नगरपालिकामा चित्रकुमार तुम्सिङ, कविलासी नगरपालिका विनय यादव, बलरा नगरपालिकामा रामबाबु दास, विष्णु गाउँपालिकामा सुरेन्द्र राय, चक्रघट्ट गाउँपालिकामा विक्रम राय यादव र बसबरिया गाउँपालिकामा रामविश्वास रायको अध्यक्षतामा कमिटी गठन भएको छ।

यस्तै, जिल्लामा चन्द्रनगर, ईश्वरपुर, बरहथवा, हरिपुर्वालगायत पालिकामा उद्घाटन सत्र सुरु भएर अधिवेशन स्थगित भएको छ भने पर्सा गाउँपालिका, धन्कौल गाउँपालिका, रामनगर गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र मलंगवा नगरपालिकामा अधिवेशन नै हुन सकेन। अधिवेशन हुन नसकेका पालिकाहरूमा समेत छलफल गरेर सर्वसहमतिमा कमिटी गठनको प्रक्रिया अगाडि बढाइएको केन्द्रले जनाएको छ। वडा कमिटीहरू भने यसअघि नै गठन भइसकेका छन्।

केन्द्रको हरिवन नगर कमिटीको पदाधिकारीहरूमा उपाध्यक्षमा पद्मा मोक्तान, जमुना पौडेल, जयमान पाख्रिन सचिवमा गौरी महतो, सहसचिवमा विवेक मैनाली र कोषाध्यक्षमा जगदेव महतो चयन भएका छन् ।