• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ मङ्सिर १२ आइतबार १२:४१:००
समाचार

इलाममा देउवानिकट खड्का सभापति निर्वाचित

२०७८ मङ्सिर १२ आइतबार १२:४१:००

नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा पार्टी सभापति शेरबहादुर देउवानिकट डम्बर खड्का निर्वाचित भएका छन्। संस्थापनइतर समूहका भेषराज आचार्यलाई हराउँदै खड्का जिल्ला सभापतिमा निर्वाचित भए ।

शनिबार भएको मत गणनाअनुसार खड्काले ९३५ मत पाएर सभापति निर्वाचित भए भने पराजित आचार्यले ७७५ मत पाए। मनोनयन दर्ता गर्नुअघिसम्म जिल्ला सभापतिका लागि चार आकांक्षी थिए। डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्माचार्य र केशव थापाले सभापतिमा आकांक्षा राखी मातहतको समितिहरूमा आ–आफ्ना प्यानल बनाएर चुनाव भिडेका थिए । तर, मनोनयन दर्ताअघि एकाएक दृष्य परिवर्तन भएको थियो।

जिल्ला सभापतिको मनोनयको अन्तिममा कर्माचार्य र थापाले खड्कासँग गठबन्धन गरेर उनलाई सघाए। वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको निर्वाचमा बलियो देखिएका आचार्य भने आफ्नो एक्लो प्यानल बनाएर सभापतिको चुनाव भिडेका थिए। देउवानिकट खड्कालाई जिल्ला सभापतिमा सघाएका कर्माचार्य केन्द्रमा भने संस्थापनइतर समूहका रुपमा चिनिन्छन् । पूर्वजिल्ला सभापति रहेका थापा भने देउवानिकट नै हुन् ।

उपसभापतिमा खगेन्द्र देवान र विष्णु कुमारी लिम्बू दाहाल निर्वाचित भएका छन्। देवानले ८७४, दाहालले ७७८ मत प्राप्त गर्दै उपसभापति निर्वाचित भएका हुन्। उपसभापतिमा निर्वाचित दुवैजना भेषराज आचार्य प्यानलबाट चुनावमा होमिएका हुन्। सचिवमा पूर्णप्रसाद गौतम र निरोज खड्गी तथा सहसचिवमा डालाकुमारी कार्की र देवेन्द्रकुमार सुवेदी निर्वाचित भएका छन् ।