• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वेदकोट नगरपालिकाका किसानलाई कृषि औजार वितरण गर्दै  मेयर अशोक चन्द ।
मोहन विष्ट कञ्चनपुर
२०७८ भदौ २३ बुधबार ०७:०३:००
अर्थ

विदेशबाट फर्किएका युवालाई कृषि यन्त्र–उपकरण वितरण

मोहन विष्ट कञ्चनपुर
२०७८ भदौ २३ बुधबार ०७:०३:००

कञ्चनपुरको वेदकोट नगरका किसानलाई कृषि यन्त्र–उपकरण (पावर टिलर) वितरण गरिएको छ । कोभिडका कारण स्वदेश फर्किएका युवा एवं ग्रामीण भेगका किसानलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पावर टिलर वितरण गरेको हो । 

वेदकोटका १० वटै वडाहरूबाट दुईजना किसानका दरले २० किसानलाई पावर टिलर वितरण गरिएको छ । स्विट नेपाल, युएनडिपी र वेदकोट नगरपालिकाको संयुक्त साझेदारीमा नगरका २० किसानलाई पावर टिलर वितरण गरिएको हो । स्विट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले युएनडिपी नेपाल र वेदकोट नगरपालिकाको सहयोगमा स्विट नेपालले सञ्चालन गरेको कोभिड–१९ प्रतिक्रिया तथा सामाजिक, आर्थिक पुनः प्राप्ति परियोजनाअन्तर्गत वेदकोट नगरका सबै वडाहरूका किसानलाई कृषि यन्त्र–उपकरण वितरण गरिएको बताए । 

५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको स्विट नेपालका अध्यक्ष तिरुवाले बताए । उनका अनुसार पहिलो चरणमा देखिएको कोरोना महामारीपछि विदेशबाट फर्किएका युवाहरूका लागि स्वदेशमै कृषि उत्पादनका कार्यक्रम सञ्चालनका लागि योजना ल्याइएको हो । अघिल्लो वर्षदेखि वेदकोट नगरका किसानलाई आत्मनिर्भर बनाउनका लागि बिउबिजन वितरणदेखि तालिमलगायतका कृषि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

वेदकोट नगरका मेयर अशोककुमार चन्दले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाले अघि सारेको लक्ष्यअनुरूप दातृ निकाय एवं साझेदार संस्थाहरूसँगको सहकार्यमा किसानलाई कृषिमा आत्मनिर्भर बनाउने काम भइरहेको बताए । ‘नगरपालिकाले कृषितर्फ पशुपालन र उन्नत प्रजातिको बाली सुधारका लागि योजना ल्याएको छ,’ मेयर चन्दले भने, ‘अहिले किसानलाई यन्त्र वितरण गरेका छौँ ।’ 

अघिल्लो वर्ष झन्डै पाँच सय किसानलाई उद्यमी बनाउने काम भएको बताउँदै उनले कृषिका लागि प्रशस्तै सम्भावना बोकेको वेदकोट नगरमा दूधका लागि आत्मनिर्भर भइसकेको बताए । ‘कृषिमा आत्मनिर्भर बन्नका लागि थप यन्त्र–उपकरण वितरण गरेका छौँ,’ मेयर चन्दले भने, ‘वेदकोट नगर कृषिबाटै आर्थिक समृद्धिको बाटोतिर उन्मुख हुन्छ ।’ उनले आगामी दिनमा समेत स्थानीय किसानको आत्मनिर्भरका लागि कार्यक्रम गरिने बताए । वेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले आय–आर्जनका लागि कृषिमा आत्मनिर्भरको विकल्प नभएको बताए । यन्त्र पाएका किसानले व्यावसायिक कृषिका लागि उपकरणले थप कृषि कार्यका लागि सहजता ल्याएको बताएका छन् । 

युएनडिपीका प्रतिनिधि अमित मिश्रले कोडिभका कारण विदेशबाट फर्किएका युवालाई कृषिमा संलग्न गराई आत्मनिर्भरताका लागि कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।  वेदकोट नगर–८ का किसान रुकुम लुहारले यन्त्र पाएसँगै खेतीका लागि सहज हुने बताए ।