• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मादी नगरपालिका–१ मा आइतबार राति भएको सामूहिक हत्याकाण्डका मृतकको शव धरान लैजाने तयारी गरिँदै । 
नवीन गुरुङ संखुवासभा
२०७८ भदौ २३ बुधबार ०६:२६:००
मुख्य समाचार

संखुवासभा सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरले पनि केही पत्ता लगाउन सकेन, पोस्टमार्टमका लागि शव धरान लगियो

नवीन गुरुङ संखुवासभा
२०७८ भदौ २३ बुधबार ०६:२६:००

- घरमा चार लाख ७१ हजार नगद र सुनका गरगहना यथास्थितिमा भेटिएको प्रहरीको भनाइ

- जिल्लाका सबै सम्भावित नाका सिल, छिमेकी जिल्लामा समेत चेकजाँचमा कडाइ


मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानमा तालिमप्राप्त कुकुर र विज्ञ टोली कुनै ‘क्लु’ फेला पार्न असफल भएको छ । मंगलबार बिहानैदेखि विभिन्न चरणको अनुसन्धानमा खटिएको तालिमप्राप्त दुईवटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अपराधीको सुराक पत्ता लगाउन असफल भएका हुन् ।

अपराध अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानबाट आएको कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन नसकेपछि मंगलबार दिउँसो शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनले मंगलबार घटनास्थलमा मुचुल्का उठाउने, स्थानीयसँग सोधपुक्ष र डग स्निफिङ (कुकुरलाई सुँघाउने) काम भएको बताए । घटनास्थलमा अन्य व्यक्तिहरू पहिले नै पुगेकाले कुकुरले अभियुक्तबारे ‘क्लु’ दिन नसकेको एक प्रहरी अधिकारीले बताए । 

अभियुक्त अपराधीहरू भाग्न नपाओस् भनेर जिल्लाका सबै सम्भावित नाका र छिमेकी जिल्लामा समेत चेकजाँचमा कडाइ गर्न अनुरोध गरिएको पौडेलले बताए ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लालध्वज सुवेदी, चैनपुर इलाका कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगराज खतिवडालगायत संघीय प्रहरी एकाइ कार्यालय धरानबाट आएका प्रहरी उपरीक्षक (एसपी) दाहालको नेतृत्वमा तालिमप्राप्त दुईवटा कुकुर ‘पिकु’ र ‘लैला’ले घटनाको अनुसन्धान गरेको थियो । घटनास्थलमा फरेन्सिक विज्ञ चिकित्सकसमेत पुगेका थिए । 

अभियुक्तको पहिचानका लागि जिल्लाका सुरक्षाकर्मीको टोली परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनले घटनाको विभिन्न चरण र कोणबाट अनुसन्धान गरिने जानकारी दिए । ‘शव हेर्दा र प्रारम्भिक अनुसन्धानले सबैजनाको धारिलो हतियारले नभई रड प्रहार गरी हत्या गरेको देखिन्छ । विस्तृत रिपोर्ट अब पोस्टमार्टमपछि मात्रै आउनेछ,’ डिएसपी सुवेदीले भने, ‘घटनास्थल वरपर अझै कडाइ गरिएको छ । कहीँकतै अपराधीले सुराक छोडेका छन् कि भन्ने विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’ मृतकहरू सबैको टाउकोमा गम्भीर चोट रहेको चिकित्सकले बताएका छन् । हत्यामा प्रयोग भएको कुनै हतियार बरामद हुन सकेको छैन । 

घटनास्थल सोमबार रातभर पानी परेकाले समेत तालिमप्राप्त कुकुरले केही पत्ता लगाउन नसकेको प्रहरीको भनाइ छ । आइतबार राति ६ जनाको सामूहिक बीभत्स हत्या भएको थियो । स्थानीय ८५ वर्षीय बौद्धमान कार्कीको एकै परिवारको वंश नै नाश हुने गरी ६ जनाको सामूहिक हत्या भएको हो । घटनामा घरमुली बौद्धमान कार्की भने सकुशल छन् । उनी आँखा कम देख्ने र कान कम सुन्छन् । हत्याकाण्डमा बौद्धमानको श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीय कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ११ वर्षीय दिपेन कार्की र पनातिनी सात वर्षीया गोमा कार्कीले ज्यान गुमाएका थिए । शव घरभित्रदेखि घरबाहिर आँगन, खरबारी र खोल्सासम्म यत्रतत्र छरिएको अवस्थामा फेला परेको थियो । 

मृतकको घरमा चार लाख ७१ हजार नगद र सुनका गरगहना यथास्थितिमा भेटिएको प्रहरीले जनाएको छ । जसले लुटपाटको उद्देश्यले सामूहिक हत्या भएको आकलन कमजोर भएको छ । कुनै रिसइबीकै कारण हत्या भएको आधार यसबाट देखिएको प्रहरीले जनाएको छ । 

स्थानीयले घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली आउनुपर्ने माग गरेका छन् । अपराध अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानबाट आएको कुकुरसहितको विज्ञ टोलीले घटनाका बारेमा पत्ता लगाउन नसकेपछि सिआइबीको टोली आउनुपर्ने माग उठेको हो । तर, सिआइबीको टोली आउनेबारेमा आफूलाई औपचारिक रूपमा जानकारी नआएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।