• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ २३ बुधबार ०६:१६:००
मुख्य समाचार

दाङमा शंकर पोखरेलको वडाका तीन जनप्रतिधिसहित २१ जनाले रोजे एकीकृत समाजवादी 

२०७८ भदौ २३ बुधबार ०६:१६:००

नेकपा एमालेका नेता शंकर पोखरेलको वडाका तीनजना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । पोखरेलको घर रहेको तुलसीपुर उपमहानगरपालिका– १९ का तीनजना वडा सदस्यले माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत) समाजवादी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङमा गएर तुलसीपुर उपमहानगरपालिका– १९ का वडा सदस्य केशर पुन, जयबहादुर विक र देवा नेपालीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख निमराज भट्टराईले जानकारी दिए ।  

पोखरेललाई आफ्नै जिल्लाका सांसदहरूले पनि यसअघि साथ छोडेका थिए । बौद्धिक तथा वैचारिक छवि भएका पोखरेलले कार्यकर्ताको मनोभावना नबुझ्ने आरोप लागिरहेका वेला उनकै घर रहेको निर्वाचन क्षेत्र नं. २ को ‘ख’बाट तत्कालीन एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले साथ छोडेका थिए । उनले सांसद पदबाटै राजीनामा दिएर अहिले माओवादीबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसीको मुख्य राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । 
 
त्यस्तै, उनका विश्वास पात्रका रूपमा रहेका स्व. उत्तरकुमार वलीको ठाउँमा निर्वाचन लडेकी वलीकै श्रीमती विमलाकुमारी खत्री (वली)ले पनि शंकरको साथ छोडेर माओवादी केन्द्र रोजेकी थिइन् । शंकरको प्रदेशको सत्ता ढाल्न विमलाको मुख्य हात रहेको छ । उनलाई केही समयपछि राज्यमन्त्री बनाउने तयारी थालिएको छ ।  दाङबाट अन्य प्रदेश सभा सदस्यहरूले भने एमाले नै रोजे ।  

मेटमणिकी दिदीले रोजिन् समाजवादी 
दाङका प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीकी दिदी गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीले एकीकृत समाजवादी रोजेकी छिन् । उनी दाङबाट एकीकृत समाजवादी रोज्ने एक मात्रै गाउँपालिका उपप्रमुख हुन् । एमालेले दाङमा ६ वटा स्थानीय तहमा प्रमुख र चारवटा स्थानीय तहमा उपप्रमुख जितेको थियो । तीमध्ये प्रमुख सबै तत्कालीन केपी समूहमा लागेका थिए । तर, गढवा गाउँपालिका, घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाका उपप्रमुख माधव नेपालनिकट मानिन्थे । तीमध्ये अन्य दुई उपप्रमुखले एमालेभित्रै संघर्ष गर्ने भन्दै एकीकृत समाजवादी रोज्न माननेन् ।  

त्यस्तै, ३० वटा वडा जितेको दाङमा दुईजना वडाध्यक्षले मात्रै एकीकृत समाजवादी रोजे । घोराही उपमहानगरपालिका– ४ का वडाध्यक्ष भीमबहादुर सार्की र तुलसीपुर उपमहानगरपालिका– १६ का अध्यक्ष भूपबहादुर केसीले एकीकृत समाजवादी रोजेका हुन् ।  

त्यस्तै, जिल्ला समन्वय समिति सदस्य सावित्रा रिजाल  र  तिलाकुमारी बुढा, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य चित्रा मल्ल,  रमादेवी नेपाली, गढवा गाउँ कार्यपालिका सदस्य देवीदाल दुढराज, राजपुर गाउँ कार्यपालिका सदस्य  भक्तबहादुर विक, घोराही उपमहानगरपालिका कार्यपालिका सदस्य धनबहादुर कुसुन्डा, घोराही उपमहानगरपालिका कार्यपालिका सदस्य डिल्ली नेपाली, घोराही उपमहानगरपालिका– ४ का सदस्य रचनी चौधरी, घोराही उपमहानगरपालिका– १२ सदस्य पुष्प विक, घोराही उपमहानगरपालिका– १६ का सदस्य खिमा घर्ती, गढवा गाउँपालिका– २ का सदस्य राधेश्याम थारू कुमाल, तुलसीपुर उपमहानगरपालिका– १६ का सदस्य  डन्डबहादुर केसी, रमा भण्डारी र जनक चौधरीले एकीकृत समाजवादी रोजेका छन् ।