• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७८ असार २३ बुधबार ११:५७:००
खेलकुद

कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने

२०७८ असार २३ बुधबार ११:५७:००

दक्षिण अमेरिकी क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल आइतबार बिहान हुनेछ ।

प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त निश्चित गरेको हो । ब्राजिल मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा पेरूलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थियो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि  भएको टाइब्रेकरमा अर्जेन्टिनाले जित हात पारेको हो । टाइब्रेकरमा अर्जेन्टिनालाई विजयी बनाउन गोलरक्षक इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरे । उनले टाइब्रेकरमा कोलम्बियाको तीन खेलाडीको प्रहारलाई रोकिदिए । 

त्यसअघि निर्धारित समयको सुरुवातमै अग्रता बनाएको अर्जेन्टिना सहज रूपमा प्रतियोगिताको फाइनलतर्फ अग्रसर देखिएको थियो । टोलीलाई लउटारो मार्टिनेजले खेलको सातौँ मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई १–० ले अगाडि बढाएका थिए ।

यद्यपि, खेलको दोस्रो हाफमा लुइस डायजले कोलम्बियाका लागि बराबरी गोल फर्काएपछि खेल सीधै टाइब्रेकरतर्फ गएको  थियो । दक्षिण अमेरिकी फुटबल महासंघले जारी कोपा अमेरिकामा निर्धारित समयको समाप्तिपछि पनि खेल बराबरीमै रहेको अवस्थामा सीधै टाइब्रेकर प्रहार गर्ने नियम बनाएको छ । युरोकप र अन्य प्रतियोगितामा भने ३० मिनेटको अतिरिक्त समयपछि मात्रै टाइब्रेकर प्रहार गर्ने चलन छ ।

खेलमा दुवै टोलीले एक–अर्काको पोस्टमा समान चार–चार सशक्त प्रहार गरे । यद्यपि, गोल प्रयासको दृष्टिकोणले भने कोलम्बिया अघि देखियो । अर्जेन्टिनाले १३ र कोलम्बियाले १४ राम्रा गोल प्रयास गरेको थियो । सेमिफाइनलमा पराजित पेरू र कोलम्बियाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।