• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७८ असार २३ बुधबार १०:४०:००
खेलकुद

आज युरोकप २०२० को दोस्रो सेमिफाइनल : इंग्ल्यान्डको योजनामा डेनमार्कको चुनौती

२०७८ असार २३ बुधबार १०:४०:००

दुई टोलीबीच अहिलेसम्म भएका प्रतिस्पर्धामा अधिकांश नतिजा इंग्ल्यान्डको पक्षमा देखिएको छ, दुई टोलीले अहिलेसम्म २३ पटक प्रतिस्पर्धा गर्दा इंग्ल्यान्डले १३ खेलमा जित हात पारेको छ भने डेनमार्कले मात्रै पाँच खेल जितेको छ, पाँच खेल बराबरीमा टुंगिएको छ

आजको खेल
इंग्ल्यान्डविरुद्ध डेनमार्क १२:४५ राति (वेम्बली स्टेडियम, इंग्ल्यान्ड)

इंग्ल्यान्ड युरोपको प्रतिष्ठित महादेशीय फुटबल प्रतियोगिता युरोकपको यस्तो अभागी टोली हो, जो राम्रो लयमा हुँदा पनि कहिल्यै उपाधि जित्न सकेन । इंग्ल्यान्डले उपाधि जित्नुभन्दा त परको विषय अहिलेसम्म युरोकपको फाइनलमा समेत पुगेको छैन । 

इंग्लिस टोलीको भनाइलाई मान्ने हो भने यसपटक उनीहरूले अहिलेसम्म प्राप्त गर्न नसकेको त्यही उपलब्धिी हात पार्ने राम्रो अवसर पाएका छन् । त्यसका लागि उनीहरूले जारी युरोकपको दोस्रो सेमिफाइनल खेलमा बुधबार आफ्नो राष्ट्रिय स्टेडियममा डेनमार्कसँग खेल्दै छन् । यो खेलले इंग्ल्यान्डले नयाँ इतिहास रच्ने वा फेरि पनि अभागी ठहरिने निश्चित गर्ने छ । सन् १९६० बाट सुरु भएको युरोकपको १६औँ संस्करण जारी रहँदासम्म इंग्ल्यान्ड योसहित तेस्रोपटक सेमिफाइनलमा पुगेको छ ।

अघिल्लो दुवैपटक सेमिफाइनल चरणमै रोकिएको इंग्ल्यान्डले यसपटक फाइनल पुग्दै नयाँ इतिहास रच्नका लागि निश्चित रूपमा मिहिनेत गर्नेछ । त्यसका लागि इंग्ल्यान्डलाई सहज भने हुनेछैन । उसलाई डेनमार्कको चुनौती मुस्किल हुने पक्का छ । सन् १९९२ को विजेता टोली डेनमार्क जारी प्रतियोगिताको पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा आइपुगेको टोली हो ।

जारी प्रतियोगितामा डेनमार्कको फरक रूप देखिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टोलीका महत्वपूर्ण सदस्य क्रिस्टियन एरिक्सन कार्डिएक एरेस्ट भएर मैदानमा ढलेको डरलाग्दो घटनाबाट सम्हालिएर अघि बढेको डेनमार्कले त्यसपछिका खेलमा सबैलाई आश्चर्यमा पार्ने प्रदर्शन दिँदै आएको छ । 

उक्त घटनापछि डेनमार्कको टोलीमा अचम्मकै तालमेल देखिएको छ । खेलाडीहरूमा जितको उत्कट भावना देखिएको छ । मजबुत एकता देखिएको छ । खेल जीवनकै दुखद घटना व्यहोर्न पुगेका आफ्ना सहकर्मी एरिक्सनलाई उपाधि उपहार दिलाउने लक्ष्यमा डेनमार्कका खेलाडीहरू देखिएका छन् । जारी प्रतियोगिताको पछिल्लो खेलको प्रदर्शनलाई निरन्तता दिन सके उनीहरू यो योजनामा सफल हुने देखिएको छ । यद्यपि, खेलाडीहरूलाई मैदानको प्रदर्शनसहित अन्य विषयले पनि प्रभाव पार्छ ।

इंग्ल्यान्ड सेमिफाइनलजस्तो महत्वपूर्ण खेल आफ्नो घरेलु मैदानमा खेल्दै छ । उसलाई घरेलु समर्थकको साथ त हुने नै छ । इंग्ल्यान्ड जारी प्रतियोगिताको यस्तो भाग्यमानी टोली हो जसले अहिलेसम्म मात्रै एक खेल आफ्नो घरभन्दा बाहिर खेलेको छ । फाइनल प्रवेश गरेको अवस्थामा इंग्ल्यान्डले उपाधि भिडन्त पनि आफ्नै मैदानमा गर्न पाउनेछ ।  जारी प्रतियोगितामा इंग्ल्यान्डले एउटा फरक यात्रा तय गरेको छ । उनीहरूले अहिलेसम्म एक गोल पनि व्यहोरेका छैनन् । त्यसमाथि पछिल्लो खेलमा आफ्ना फर्वाडले गोल गर्न थालेपछि इंग्लिस टोली उत्साहित देखिएको छ । 

यी दुई टोलीबीच यसअघि भएको प्रतिस्पर्धाको नतिजा भने इंग्ल्यान्डको पक्षमा देखिएको छ । यी दुई टोलीले अहिलेसम्म २३ पटक प्रतिस्पर्धा गर्दा इंग्ल्यान्डले १३ खेलमा जित हात पारेको छ । डेनमार्कले मात्रै पाँच खेलमा जित हात पारेको छ । पाँच खेल बराबरीमै टुंगिएको छ । 

यद्यपि, यी दुई टोलीबीचको पछिल्लो प्रतिस्पर्धामा भने डेनमार्कले आफूलाई बलियो सावित गरेको छ । नेसन्स लिगअन्तर्गत गत वर्ष भएका दुईमध्ये पछिल्लो खेलमा डेनमार्कले १–० को जित हात पारेको थियो ।

प्लेयर्स टु वाच

कास्पर डोलबर्ग फर्वाड, डेनमार्क

युवा फर्वाड डोलबर्ग डेनिस टोलीका सशक्त खेलाडी हुन् । जारी प्रतियोगितामा डेनमार्कको सेमिफाइनल यात्रामा उनै डोलबर्गको प्रदर्शन महत्वपूर्ण देखिएको छ । विशेष गरी प्रतियोगिताको नकआउट चरणमा उनको प्रदर्शन महत्वपूर्ण देखिएको छ । प्रिक्वार्टरफाइनल चरणको खेलमा डेनमार्कले वेल्सलाई ४–० ले पराजित गर्दा दुई गोल उनै डोलबर्गले गरेका थिए । त्यसपछि क्वार्टरफाइनल चरणको खेलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दा पनि डेनमार्कका लागि पहिलो गोल उनै डोलबर्गले गरेका थिए ।

रहिम स्टर्लिङ फर्वाड, इंग्ल्यान्ड

म्यान्चेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्ने स्टर्लिङ जारी युरोकपमा इंग्ल्यान्डको मुख्य खेलाडीका रूपमा देखिएका छन् । टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउन उनको नै मुख्य भूमिका रह्यो । इंग्ल्यान्डले मात्रै दुई गोल गरेर पनि समूह डीको विजेताका रूपमा प्रतियोगिताको नकआउट चरणको यात्रा तय गरेको थियो । त्यो दुवै गोल स्टर्लिङले गरे । त्यसपछि प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनल चरणमा पनि उनले टोलीलाई गोल गरेर मात्रै होइन, गोलको अवसर सिर्जना गरेर पनि योगदान पुर्‍याएका छन् । 

खेलअघि के भन्छन् प्रशिक्षक र खेलाडी ?
इंग्ल्यान्डका प्रशिक्षक गेराथ साउथगेट भन्छन्, ‘हामीले यसपटक युरोकप उपाधि जित्न एकदमै राम्रो अवसर पाएका छौँ । यो इतिहास रच्ने अवसर पनि हो । अहिलेको टोलीमाथि त्यस्तो दबाब पनि छैन । उनीहरूका लागि पनि अर्काे चुनौती लिने अवसर जुरेको छ । जारी प्रतियोगितामा उनीहरू एकपछि अर्काे चुनौतीमा सफल पनि बन्दै गइरहेका छन् । डेनमार्क राम्रो टोली हो । उनीहरूले जारी प्रतियोगितामा पनि आफूलाई प्रमाणित गरेका छन् । यो खेल साँच्चिकै राम्रो हुनेछ ।’

इंग्ल्यान्डका कप्तान हारी केन भन्छन्, ‘डेनमार्क साँच्चिकै सशक्त टोली हो । हामीले उनीहरूसँग नेसन्स लिगअन्तर्गत गत वर्ष दुई खेल खेलेका थियौँ । त्यसमध्ये एक खेल बराबरी र अर्काे खेलमा पराजय व्यहोरेका थियौँ । अब हामीलाई आफ्नो खेलमा केन्द्रित हुन आवश्यक छ । हामी आफ्नो राष्ट्रिय स्टेडियममा सेमिफाइनल खेल खेल्दै छौँ । हामीले आफ्नो स्वभाविक खेल खेल्न सक्यौँ भने जित निश्चित हाम्रो हुनेछ ।’

डेनमार्कका प्रशिक्षक कास्पर ह्युलमान्ड भन्छन्, ‘यो खेल हाम्रा लागि अवे खेलजस्तै भएको छ । यद्यपि, यसको पनि राम्रा पक्ष छन् । हामीले यो खेल राम्रो हुने अपेक्षा गरेका छौँ । हामी यसमा पनि खुसी छौँ कि त्यहाँ हाम्रा पनि समर्थक हुने छन् । स्टेडियमको आधा भाग डेनमार्कको जर्सीको रंगले भरिए, त्यो दृश्य हाम्रा लागि अझ राम्रो हुने छ । हाम्रो लक्ष्य भनेको विपक्षी समर्थकलाई शान्त राख्ने हो । तर, त्यो लक्ष्य सहज भने हुने छैन ।’

डेनमार्कका मिडफिल्डर थोमस डेलानी भन्छन्, ‘हामीले प्रतियोगिता सुरु हुँदादेखि नै वेम्बली स्टेडियममा यो खेल खेल्नेछौँ भन्ने योजना बनाएका थियौँ । त्यसैले हामी यो खेलका लागि तयार छौँ । प्रतियोगितामा हामी जुन अवस्थाबाट गुज्रिएका थियौँ, त्यसबाट यहाँसम्म आइपुग्नु अझ फरक यात्रा रह्यो । सेमिफाइनलअघिको हाम्रो भावना साँच्चिकै फरक छ ।’