• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २२ मंगलबार ११:२६:००
मुख्य समाचार

महानगरपालिकाको कानुन–नीति उल्लंघन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न : मेयर शाक्य 

नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २२ मंगलबार ११:२६:००

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन् । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले भने, ‘हामी नीतिबाहिर जानुहुन्न, सर्वोच्च अदालतको फैसला र महानगरपालिकाको कानुन–नीतिलाई उल्लंघन गर्न पाइन्न ।  जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।’ 

शाक्यले ‘कोभिड फ्रन्टलाइनर’हरूको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको बताए ।  ‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरूलाई व्यक्तिगत रूपमा धन्यवाद,’ शाक्यले भने, ‘तर, सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लंघन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’
 

प्रमुख शाक्यले सकारात्मक सुझाब ग्रहण गर्न आफू जहिले पनि तयार रहेको बताए ।  ‘सकारात्मक सुझाब ग्रहण गर्न तयार छु,’ उनले भने, ‘सर्वोच्च अदालतले ०७२ मै सहरका घर, पर्खाल, बिजुलीको पोललगायतमा रहेका पर्चा, पम्प्लेट, भित्तेलेखन, होर्डिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु । त्यसैले मेयरलाई देखाइदिन्छौँ भनेर नीति–नियमको उल्लंघन गरी योजनाबद्ध ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौँ ।’  

०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होर्डिङबोर्डहरू, भित्तेलेखन, पोस्टर, पम्प्लेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ । 

‘सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्दै विगतमा पनि त्यस्ता सामग्री हटाउने कार्य गरेको स्मरण गराउन चाहन्छु,’ उनले भने, ‘पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि हामीले सर्वोेच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो । त्यसबाट आयस्रोत त हुन्थ्यो नि हामीले नीति छैन भनेर दिएनौँ । त्यसैले सर्वोेच्चको आदेश र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ ।’ 

उनले यसअघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पतालअगाडि, नेसनल ट्रेडिङलगायतका स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिए । ‘नीति सबैका लागि बराबर हुन्छ,’ भने,  ‘पहिलोपटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भइरहेको छ । त्यो होइन, निधेष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिई बनाएका त्यस्ता सामग्री हटाएका छौँ ।’

सहकार्यबाट कोभिड फ्रन्टलाइनरको सम्मान
उनले  स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरूको मनोबल उच्च बनाउन सहकार्य आवश्यक रहेको प्रस्ट पारे । ‘निधेष गरिएको स्थानमा कोरेको भित्तेचित्रले मात्रै उहाँहरूको सम्मान हुँदैन । उहाँहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्छ । त्यो महानगरपालिकाले गरिरहेको छ,’ उनले भने  ‘स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरूको मनोबल उच्च बनाउनुपर्छ भनेर महानगरपालिकाले सक्दो सहयोग गरेको विदितै छ ।’