• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७८ असार २२ मंगलबार १०:३२:००
खेलकुद

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

२०७८ असार २२ मंगलबार १०:३२:००

साबिक विजेता ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पेरूलाई १–० ले पराजित गर्दै ब्राजिल उपाधिनजिक पुगेको हो । 

टोलीलाई फाइनलमा पुर्‍याउन लुकास पाक्वेटाले निर्णायक गोल गरे । ब्राजिलले अब उपाधिका लागि आइतबार बिहान हुने फाइनल खेलमा अर्जेन्टिना वा कोलम्बियामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र कोलम्बिया प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बुधबार बिहान प्रतिस्पर्धा गर्दै छन् । 

पेरूविरुद्ध ब्राजिल खेलको सुरुवातबाटै आक्रामक रूपमा प्रस्तुत भएको थियो । खेल सुरु भएको सातौँ मिनेटमै ब्राजिलले एउटा राम्रो अवसर सिर्जना गरेको थियो । पाक्वेटाको पासमा रिचार्लिसनले पेरूका गोलरक्षक पेद्रो गल्लेसलाई समेत छलाएका थिए, यद्यपि उनले प्रहार गर्ने राम्रो एंगल पाएनन् । उनले अगाडि भएका नेमारलाई पनि पास निकाल्न सकेनन् । 

खेलको पहिलो हाफमा पेरूका गोलरक्षक गल्लेसले उत्कृष्ट प्रदर्शन गरे । उनले ब्राजिलका धेरै राम्रा अवसरलाई असफल बनाइदिए । पहिलो हाफमै कासेमिरोको एउटा सशक्त फ्रिकिकलाई उनले उत्कृष्ट बचाउ गरे । पहिलो हाफमा उनको यो पहिलो बचाउ थियो । 

त्यसपछि उनले अझ उत्कृष्ट बचाउ गरे । डी बक्सको छेउबाट कासेमिरोको अर्काे सशक्त प्रहारलाई फेरि असफल बनाइदिए । त्यसपछि नेमारको अर्काे प्रहार र त्यसको रिबाउन्डमा रिचार्लिसनको प्रहारलाई पनि उनले गोल हुनबाट बचाए ।

ब्राजिलले अग्रताका लागि निरन्तर प्रयास गर्दा पेरू त्यसकै बचाउनमा व्यस्त रह्यो । उनीहरूले ब्राजिलको पोस्टमा बिरलै बल पुर्‍यायो । पेरूले ब्राजिलविरुद्ध पाँच रक्षक खेलाएको थियो । त्यसका बाबजुद ब्राजिलले खेलको ३४औँ मिनेटमा अग्रता बनायो ।

यो अवसर नेमारले मिलाएका हुन् । उनले पेरूका कम्तीमा तीन रक्षकलाई छलाएर पाक्वेटाका लागि बल उपलब्ध गराइदिएका थिए । सो अवसरमा पाक्वेटाको लेफ्ट फुटेट सट गोलमा परिणत भएको थियो । फ्रान्सेली टोली ल्योनका मिडफिल्डर पाक्वेटाले जारी प्रतियोगितामा पछिल्लो दुई खेलमा दुई गोल गरेका हुन् ।

पहिलो हाफ हुनुभन्दा केहीअघि पेरूका जियन्लुका लापाडुलाले ब्राजिलियन रक्षक थिएगो सिल्भालाई छक्याउँदै बल अघि बढाएका थिए । तर, उनको प्रहारलाई ब्राजिलका गोलरक्षक इडर्सन मोरइसले सहज नियन्त्रणमा लिए । खेलको दोस्रो हाफमा पनि दुवै टोलीले गोलको प्रयास गरे । यद्यपि, खेलमा थप गोल ननिस्किएपछि पाक्वेटाको एक मात्र गोल ब्राजिललाई फाइनलमा पुर्‍याउन पर्याप्त बन्यो ।