• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ जेठ ३० आइतबार १८:३६:००
मुख्य समाचार

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय : नीति तथा कार्यक्रम सोमबार, पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिने 

२०७८ जेठ ३० आइतबार १८:३६:००

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम सोमबार पेस गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले नीति तथा कार्यक्रमबारे निर्णय गरेको हो । बैठकले पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिने निर्णय पनि गरेको छ । 

बैठकले सरकारको प्रवक्ताको जिम्मा विनाविभागीयमन्त्री कुमार खड्कालाई दिने निर्णयसमेत गरेको छ । बैठकपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा खड्काले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार ल्याउने निर्णय गरेको जानकारी दिए । 

प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्नुपर्नेछ । बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरी पारित गर्नुपर्नेछ । 

शनिबार मात्र नयाँ सरकार गठन भएकाले बजेट ल्याउन अब दुई दिन मात्र रहेकाले नीति तथा कार्यक्रमसँगै बजेटका बारेमा निवर्तमान मुख्यमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङसँग सल्लाह गरी सरकार अघि बढ्ने निर्णय बैठकले गरेको खड्काले जानकारी दिए । यसका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र एमाले नेता गुरुङबीच छलफल गर्ने र छलफलपछि मात्र सरकार अघि बढ्ने निर्णय बैठकले गरेको छ । 

समय कम भएकाले कसरी अघि बढ्ने भन्नेमा दुई पक्ष बसेर छलफल गर्ने र सोहीअनुसार सरकार अघि बढ्ने उनले बताए । बैठकले पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा र सम्मान दिने निर्णय गरेको छ । यसका लागि यसअघि कुनै निर्णयसँगै नियम–कानुनसमेत नबनाएकाले आवश्यक कार्यविधि बनाउने निर्णय बैठकले गरेको छ । 

खड्काका अनुसार अहिले नै के दिने भन्ने निर्णय भएको छैन । संघको सेवा–सुविधा हेरी प्रदेशले कार्यविधि बनाएर पाउने सेवा–सुविधा तय गर्ने उनले जानकारी दिए ।