• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २८ शुक्रबार १९:४९:००
मुख्य समाचार

मुख्यमन्त्री दाबी गर्ने समय २४ घन्टा, तर विपक्षीले दुई घन्टाभित्रै दाबी पेस गरे (भिडियोसहित)

२०७८ जेठ २८ शुक्रबार १९:४९:००

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार दिउँसो ३ः०० बजे २४ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि दाबी गर्न आह्वान गरिन् । तर, विपक्षी गठबन्धनले त्यसको दुई घन्टा नबित्दै प्रदेश प्रमुखसमक्ष सशरीर उपस्थित भएर दाबी प्रस्तुत गरेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न विपक्षी गठबन्धनले दाबी प्रस्तुत गरेको हो ।

नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, राष्ट्रिय जनमोर्चाका दुईजना, जनता समाजवादीका दुई र एकजना स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३१ जना सांसदले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न भन्दै हस्ताक्षरसहित दाबी पेस गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुनः कारबाही गरिएसँगै ३० जनाको समर्थन हुँदा बहुमत पुग्छ । 

मुख्यमन्त्रीनिवासमा दाबी पेस गरेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्माले आफूहरूले दाबी पेस गरेको र प्रदेश प्रमुख सीताकुमारी पौडेलले अध्ययन गर्छु भनेको जानकारी दिए । ‘हामीले हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका छौँ । प्रदेश प्रमुखले भोलि (शनिबार) ३ः०० सम्मको समय छ अध्ययन गर्छु भन्नुभएको छ’ उनले भने । 
कांग्रेस सांसद कुमार खड्काले यसपालि आफूहरूले ३१ जनाको हस्ताक्षर र सशरीर उपस्थित भएकाले मुख्यमन्त्रीमा पोखरेललाई नियुक्ति गर्नुको विकल्प नरहेको प्रतिक्रिया दिए । 

गण्डकी प्रदेशमा ४ फाल्गुन  २०७४ बाट प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री गुरुङले गत २९ वैशाखमा दोस्रोपटक गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीको शपथ लिएका थिए । मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८को उपधारा ५ बमोजिक नयाँ सरकार बनाउनका लागि २४ घन्टाको समय दिएर शुक्रबार आह्वान गरेकी हुन् ।  

सशरीर उपस्थित भएकाले ढुक्क छौँ : पोखरेल
मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनले अगाडि बढाएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले यसपालि आफूलाई मुख्यमन्त्री नियुक्त हुनेमा विश्वस्त रहेको बताए । केन्द्रमा देखिएको नजिरलाईसमेत ख्याल गर्दै आफूह? सशरीर उपस्थित भएको उनले प्रतिक्रिया दिएका छन् । ‘यसपालि हामी चारदलका सबै सांसदहरू सशरीर उपस्थित छौँ । सबैले हस्ताक्षर पनि गरेका छौँ । हामीले सनाखत गराएर छाडेका छौँ । त्यसैले यसपालि तलमाथि हुँदैन भन्नेमा ढुक्क छौँ । संविधानअनुसार प्रदेश प्रमुखलाई तलमाथि गर्ने ठाउँ दिएका छैनौँ,’ उनले भने । 

केन्द्रमा अदालतमा सशरीर, गण्डकी प्रदेशमा प्रदेश प्रमुख निवासमा  
गत ६ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई २१ घण्टाको समय दिएर आह्वान गरिन् । त्यसको भोलिपल्ट ७ जेठमा कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहसहितका दलहरूले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेस गरे ।

१४९ जनाको हस्ताक्षरसहित दाबी पेस गरेका शेरबहादुर देउवालाई राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरिनन् । त्यस्तै, दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गरेकाले दुवैको दाबी नपुगेको भन्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीलाई नै निरन्तरता दिएपछि सोही दिनको मध्यरातमा मन्त्रिपरिषद्का सिफारीसमा राष्ट्रपतिले मध्यावधि निर्वाचनको घोषणा गर्दै प्रतिनिधिसभा भंग गरिदिइन् । त्यसलाई चुनौती दिन विपक्षीहरूले १४६ जनाको हस्ताक्षरसहित सशरीर उपस्थित भएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । त्यसउपर अहिले सुनुवाइ भइरहेको छ । 

गण्डकी प्रदेशमा पनि केन्द्रमा जस्तै धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान भएको हो । दलीय समर्थनमा दाबी गर्दा केन्द्रकै नियति भोग्नुपर्ने र प्रदेश सभा भंग हुने भएका कारण आफूहरू सशरीर उपस्थित हुनुपरेको कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ बताउँछन् । आफ्नो दाबी प्रस्तुत गरेर बाहिरिँदै गर्दा कांग्रेस संसदीय दलका नेता पोखरेलले पनि यसलाई स्वीकार गरेका छन् । ‘केन्द्रको नजिरसमेतलाई हेरेर हामीले यस्तो गर्नुपरेको हो’ उनले भने ।