• वि.सं २०७८ श्रावण १८ सोमबार
  • वि.सं २०७८ श्रावण १८ सोमबार
  • Monday, 02 August, 2021
नवीन गुरुङ संखुवासभा
२०७८ जेठ २८ शुक्रबार १६:३७:००
समाचार

संखुवासभामा  सुत्केरी महिलाको हेलिकाेप्टरबाट उद्धार

नवीन गुरुङ संखुवासभा
२०७८ जेठ २८ शुक्रबार १६:३७:००

हिमाली तथा पहाडी जिल्ला संखुवासभाको एक सुत्केरी महिलाको हेलिकाेप्टरबाट उद्धा गरिएको छ ।  शुक्रबार सिलिचोङ गाउँपालिका–४ घरभएकी २७ वर्षीया मुना विश्वकर्माको अत्यधिक रक्तस्रावका कारण जटिल अवस्था भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकाेप्टरबाट उद्धार गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

उनका अनुसार, जिल्ला अस्पताल खाँदबारीमा भर्ना भएकी विश्वकर्माको अत्यधिक रगत बगेपछि बिहीबार बेलुका हेलिकाेप्टरबाट काठमाडौं लैजाने प्रयास भए पनि राति हेलिकाेप्टर आउन आनाकानी गरेकाले  शुक्रबार बिहान उद्धा गरी काठमाडौं पठाएको हो । 

शुक्रबार बिहानै करिब ७ बजेतिर नेपाली सेनाको हेलिकाेप्टरमार्फत काठमाडाैं लगिएको हो । खाँदबारीबाट करिब एक दिन पैदल दूरीमा रहेको दुर्गम सिलिचोङ घरभएकी विश्वकर्मा सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल खाँदबारी भर्ना भएकी थिइन् । २७ वर्षको उमेरमा ६ जना छोरीपछि सातौ बच्चाका रूपमा अप्रेसनद्वारा छोरा जन्माएकी थिइन् । अप्रेसनद्वारा बच्चा निकाले पनि अत्यधिक रक्तस्राव भएपछि अवस्था जटिल बनेको भन्दै जिल्ला अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेको थियो । 

विश्वकर्मा महिलाको निःशुल्क रूपमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ती महिलाको उद्धार गरिएको हो । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमले सहयोग गर्दै आएको छ ।