• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ जेठ १० सोमबार १३:४३:००
मुख्य समाचार

डोजर चलाएर त्रिपालमुनि पुर्‍याइएका सुकुमबासीमाथि नगरपालिकाको अर्को अत्याचार (भिडियोसहित)

निषेधाज्ञामा भोकै परेका सुकुमबासीको टहरा भत्काउने प्रयास, सुकुम्बासीमाथि प्रहरीको कुटपिट

२०७८ जेठ १० सोमबार १३:४३:००

गत फागुन २७ गते घरमा डोजर चलाएर त्रिपालमुनि पुर्‍याइएका सुकुमबासीलाई दमक नगरपालिकाले त्रिपालबाट पनि हटाउने प्रयास गरेको छ । दमक– ७ स्थित पञ्चमुखी टोलका सात घर सुकुमबासीले त्रिपाल लगाएर बनाएको टहरा सोमबार भत्काउने प्रयास गरेको हो ।

कोरोना महामारीले भोकै भएका सुकुमबासीमाथि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी खटाएर सुकुमबासीमाथि हातपात गर्दै त्यहाँबाट पनि हटाउन खोजेको हो । सोमबार बिहान प्रहरी पुगेर उनीहरूले बनाएको त्रिपालको टहरा भत्काउने प्रयास गरेको थियो । त्यो क्रममा प्रतिकार गर्दा प्रहरीले सुकुमबासीमाथि हातपात गर्‍यो ।

प्रतिकार गर्ने क्रममा सुकुमबासी कोपिला विश्वकर्मालाई महिला प्रहरीले कपालमा समाएर बेहोस बनाएको सुकुमबासी मनीष बराइलीले जानकारी दिए । ‘उहाँहरू त्रिपाल उठाएर लान आउनुभयो । यस्तो वेलामा हामी कहाँ जाने ? दिदी (कोपिला)ले यस्तो वेलामा टहरा नभत्काइदिनु भन्नुभयो,’ उनी भन्छन्, ‘एकजना महिला प्रहरीले कपालमा तानेर घुमाएको घुमाई गर्नुभयो । दिदी बेहोस हुनुभयो ।’

कोपिला बेहोस भएपछि र सुकुमबासीले विरोध गरेपछि प्रहरी टहरा नभत्काई फर्कियो । बेहोस् भएकी ती महिलालाई पनि उपचारमा लैजानुको सट्टा त्यसै छाडेर हिँडेको सुकुम्बासी राम सम्बाहाम्फेले बताए । ‘माइजू (कोपिला)लाई बेहोस बनाए । अस्पताल लगिदिनुपर्‍याे भनेर कति भन्यो । उल्टै प्रहरीले उल्टै हप्कायो । तर, बिरामीलाई हेरेनन्,’ उनी भन्छन्, ‘बेहोस भएर लडेकी एउटी महिलालाई छाडेर प्रहरी हिँड्यो । पछि हामीले आफैँ सिटीमा हालेर उपचार गर्न लग्यौँ ।’

२७ फागुनमा डोजर लगाएर घर भत्काएपछि त्रिपालमुनि पुगेका सुकुमबासीलाई नगरपालिकाले वेलावेला बस्तीमा पुगेर धम्की दिइरहन्छ । सोमबार टहरा भत्काउन गएको प्रहरी स्थानीयको अवरोधपछि त्यसै फर्कियो । तर, महिलामाथि हातपात गरेको सुकुमबासी युवा मानाहाङ सुब्बा बताउँछन् । ‘हामी त्रिपालमुनि छौँ । घामपानी यहीँबाट झेलिरहेको छौँ । अर्को हामीलाई खबरै नगरी नगरपालिकाले डोजर लगाएर घर भत्कायो । हामी यहाँ २० वर्षदेखि छौँ । अन्त कहीँ केही छैन । कहाँ जाने ?’  उनले भने, ‘दुई महिनादेखि बिहान–बेलुका प्रहरी आएर महिला दिदीबहिनीलाई औँला उज्याएर पख्लास् भन्दै हिँड्छन् । के हामी यो देशको नागरिक नै हाेइन ?’

कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भोकै परेका सुकुमबासीमाथि प्रहरीले दमक नगरपालिकाले अत्याचार गरेको हो । दुई महिनाअघि घर भत्काउँदा सुकुमबासीलाई पूर्वजानकारी  थिएन । उनीहरूले घरका सामान पनि निकाल्न पाएका थिएनन् ।

एकैपटक डोजरसहित बाक्लो प्रहरी बस्तीमा आएपछि झस्किए सुकुमबासी । विगतदेखि नै उचित व्यवस्थापनको माग गर्दै आएका केही सुकुमबासीलाई बिहानै प्रहरीले नियन्त्रणमा लियो । भत्काउँदै गर्दा घर सर्ने समय माग्ने सुकुमबासीलाई पनि पक्राउ गर्‍याे । त्यो वेला सुकुमबासीको घरमा रहेका खाद्यान्नदेखि सबै सामान नगरपालिकाले गाडीभित्र हाल्यो र लग्यो ।

कोरोना महामारीसँगै जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ । दिनभर काम गरेर बिहान–बेलुका छाक टार्ने सुकुमबासी अहिले समस्यामा छन् । सात घर सुकुमबासीको चुलाे निभ्ने अवस्था आएको छ । तर, यस्तै वेला नगरपालिकाले टहरामुनिबाट पनि हटाउन खोज्दै छ । यसवेला उनीहरूलाई अब कहाँ जाने भन्ने चिन्ता छ ।  भत्काइएका सात घर परिवार विपन्न दलित र जनजातिको छ ।

घर भत्किएपछि गर्दै गरेको काम पनि पाइन छाडेकाले दैनिक हातमुख जोड्नै मुस्किल भएको सुकुमबासी बालकुमार राई बताउँछन् । ‘हामी धेरैजना दैनिक ज्यालादारीमा काम गर्छौँ । तर, घर भत्काएपछि कसैले काम दिन छाड्यो । यिनीहरू त तनाबमा छन्, काम सक्दैनन् भनेर कामै दिँदैनन्,’ उनी भन्छन्, ‘नगरपालिकाले पनि दिएको सामान फिर्ता दिएन । अब के खाएर बाँच्ने ? उल्टै यस्तो घरमा आएर कुटपिट गर्छ ।’

उनीहरू एउटै टहरामा सात घर बस्दै आएका छन् । सुरुवातमा भान्सा पनि एकै ठाउँ थियो, सात परिवारको । तर, अहिले भान्सा अलग छ । सुत्ने ठाउँ एउटै टहरमा छ । उनीहरूले घर भत्काएर रहेका पुराना टिनलाई सदुपयोग गर्दै टहरा बनाएका छन् । तर, यो महामारीको समयमा पनि नगरप्रहरी दैनिकजसो आएर उनीहरूलाई धम्क्याइरहेको बलबहादुर विश्वकर्मा बताउँछन् । ‘सुरुमा त हामीले अधिकारका लागि आन्दोलन पनि गर्‍यौँ । तर, कोरोनाले अहिले सबै ठप्प भयो । यहाँ कसरी बसेका छौँ यसको पीडा कसलाई थाहा छ र !’ उनी भन्छन्, ‘टहरा बनाएको देखेर नगरपालिकाको आँखा बलेको छ । घरिघरि नगर प्रहरी आएर धम्की दिइरहन्छन् । यहाँबाट नहटे जुनसुकै वेला खेदाउने भनिरहन्छन् ।’

महामारीमा टहरा बनाउने अनुमति कसले दियो ? : मेयर ओली

महामारीमा किन लखेट्न खोजिएको भनेर प्रश्न गर्दा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले महामारीमा सुकुमबासीलाई कसले टहरा बनाउने अधिकार दियो भन्दै प्रतिप्रश्न गरे । मेयर ओलीले त्यहाँ रहेका सुकुमबासीलाई अन्त व्यवस्थापन गर्दा पनि नगएको दाबी गरे ।

यस्तै, प्रहरीको कुटाइबाट महिला घाइते नभएको दाबी उनको थियो । ‘ती महिलाले नाटक गरेकी हुन् । प्रहरीले कुट्दै नकुटी कसरी घाइते भइन् ? उनलाई प्रहरीले अस्पताल लगेको सूचना मलाई आएको छ,’ उनले भने, ‘नयाँ पत्रिकाले दमकमा भएको राम्रो काम देख्दैन ? किन यस्तै कुरा मात्र लेख्छ ?’