• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ जेठ १ शनिबार १८:५६:००
समाचार

रसुवामा आइपुग्यो अक्सिजनसहितको ३५ सिलिन्डर

२०७८ जेठ १ शनिबार १८:५६:००

रसुवामा अक्सिजनसहितको ३५ सिलिन्डर ल्याइएको छ । हाम्रो अक्सिजन ग्यास उद्योग प्रालि ओखरपौवाबाट ३५ वटा सिलिन्डरमा अक्सिजन भरेर रसुवा ल्याइएको हो । 

खाली अक्सिजन सिलिन्डर संकलन गरी ३५ वटा सिलिन्डरमा अक्सिजन भरी शुक्रबार जिल्लामा ल्याइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । आवश्यकताका आधारमा प्रयोग हुने गरी उक्त अक्सिजन सदरमुकाम धुन्चेमा राखिएको उनले बताए । 

‘अक्सिजनको लागि जहाँ आवश्यक पर्छ त्यहाँ तत्काल प्रयोग हुनेगरी सदरमुकाम धुन्चेमा राखेका छौँ’ उनले भने, ‘आवश्यकता परेको खण्डमा प्रयोग गरिन्छ ।’ अक्सिजन भरेर ल्याइए पनि अक्सिजन प्रयोजनका लागि रेगुलेटर र पाइपलगायतका सामग्रीको अभाव रहेको उनले बताए । 

तत्कालका लागि प्रहरी अस्पतालबाट उक्त सामग्री ल्याउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । 

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उक्त सामग्री खरिदका लागि प्रक्रिया सुरु गरेको पाण्डेले बताए । ‘तत्काल गाडी पठाएर प्रहरी अस्पतालबाट अक्सिजन प्रयोग हुने आवश्यक सामग्री ल्याउन पहल भइरहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पनि सामान खरिदका लागि प्रक्रिया सुरु गरेका छौँ’ उनले भने । 

विद्युत् विभागले जलविद्युत् आयोजनामा रहेको अक्सिजन सिलिन्डर स्थानीय प्रहरी, प्रशासनलाई उपलब्ध गराउन निर्देशन दिएसँगै अहिले जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाले अक्सिजनको खाली सिलिन्डर उपलब्ध गराएका छन् । जिल्लामा निर्माणाधीन रसुवागढी, सालासुलुंगी, सान्जेन, अपर सान्जेन, लाङटाङ भोटेकोसी, सानीमा, चिलिमेलगायतका जलविद्युत् आयोजनाले अक्सिजनको खाली सिलिन्डर उपलब्ध गराएका छन् । 

हाल जिल्लामा निजी क्षेत्रबाट प्राप्त एक सयभन्दा बढी अक्सिजनको खाली सिलिन्डर रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । केही दिनमा पुनः ६० वटा सिलिन्डरमा अक्सिजन भरेर ल्याउने तयारी भइरहेको बताइएको छ ।

जिल्लामा अक्सिजनको अभावमा रसुवा अस्पताल र जिबजिबे ग्रामीण अस्पतालबाट त्रिशूली अस्पताल नुवाकोटमा बिरामीको रिफर हँुदै आएको छ । जिल्लामा अक्सिजनसहितको सिलिन्डर आइपुगेसँगै अब यो समस्याको अन्त्य भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।