पहरो कटान गर्न मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड दैनिक ६ घन्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, बाग्लुङमा बसेको सर्वपक्षीय भेलाले बन्द गर्ने निर्णय गरेको हो ।
लोकमार्गको बाग्लुङ घोडाबाँधे खण्डअन्तर्गत बाग्लुङ नगरपालिका–३ बोक्सेखाल्टा र काठेखोला गाउँपालिका–१ खहरे क्षेत्रको पहरो कटान गर्न करिब तीन हप्ता लाग्ने भएको छ । त्यसका लागि २५ मंसिरदेखि १५ पुससम्म दैनिक ६ घन्टा यातायात बन्द गरिने भएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए ।
यो क्षेत्रको २५ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भएको पाँच वर्षसम्म पनि सम्पन्न हुन सकेको थिएन । सडक निर्माणको काम यथाशीघ्र सम्पन्न गर्न सर्वपक्षीय भेला आयोजना गरिएको थियो । काम सम्पन्न गर्नका लागि बिहान ७ देखि ९ बजेसम्म तथा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने भएको छ ।
यसको विकल्पमा बाग्लुङ बजारदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ चल्ने साना सवारीसाधनले बाग्लुङ बजार–गहँते हुँदै खहरे र खहरेदेखि पाला हुँदै अक्षेते सडक प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । वैकल्पिक सडकमार्ग सञ्चालन गर्न आयोजना कार्यालयले बाग्लुङ नगरपालिका र काठेखोला गाउँपालिकासँग समन्वय गर्न आग्रह गरिएको छ ।
यस क्षेत्रको खहरे खण्ड सिद्धिशाही प्रकाश जेभी र बिहुँ खण्डकोे सडक एपी इलाइट सूर्य कन्स्ट्रक्सन जेभीले निर्माणको जिम्मा लिएका छन् । ट्र्याक खोलेको २० वर्ष बितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन । निर्माण कम्पनीले आगामी जेठभित्र सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले बताए ।