कांग्रेसले भन्यो– सरकार स्वेच्छाचारी र निरंकुश बाटोमा, प्रतिवाद गर्छौँ

बुधबार, १८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी र निरंकुश बन्दै गएको ठहर गर्दै प्रतिवाद गर्ने जनाएकाे छ। असंवैधानिक कदमविरुद्ध उठ्ने आवाज थुन्न सरकार उद्धत भएको कांग्रेसकाे ठहर छ।

कांग्रेसको वैधानिकताका सवालमा पार्टी र नेतृत्वविरुद्ध कपोलकल्पित र नियोजित रूपमा षड्यन्त्र भइरहेको भन्दै कांग्रेसले जस्तोसुकै छानबिनका लागि तयार रहेको प्रस्ट पारेको छ।

बुधबार महामन्त्री प्रदीप पौडेलले विज्ञप्ति जारी गर्दै ‘इनम सापकोटा प्रकरण’मा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारकै संलग्नतामा हिरासतमा रहेका व्यक्ति र प्रमाणमा अनधिकृत नियन्त्रण गरी छेडखानी गरिएको जिकिर गरेका छन्।

‘प्रहरी महानिरीक्षक हटाउनु यसकै पछिल्लो एउटा कडी हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सेलेक्टिभ र निर्देशनात्मक यस्तो अनुसन्धान आफ्ना गल्तिको ढाकछोप गर्ने, प्रश्न गर्नेलाई तर्साउने र प्रतिपक्षलाई कमजोर बनाउने कलुषित मनसायबाट भइरहेको छ भन्ने नेपाली कांग्रेसको ठहर छ।’ 

कांग्रेसलाई बदनाम गर्ने सुनियोजित प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध राजनीतिक र कानुनी दुवै ढंगले सशक्त रूपमा उभिने पौडेलले बताएका छन्। ‘पार्टीलाई ‘डिफेम’ गर्ने वदनियतका साथ आएका षड्यन्त्रलाई नेपाली कांग्रेसले राजनीतिक र कानूनी दुवै ढंगले सामना गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।

यसका लागि उपसभापति पुष्पा भुसालको नेतृत्वमा कानुनी परामर्श प्रक्रिया अघि बढाउने तथा कांग्रेस संसदीय दलको तर्फबाट नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा संसदमा आवश्यक पहलकदमी लिने कांग्रेसले प्रस्ट पारेको छ।

सुझावित समाचार