सरकारमा जिम्मेवारीबोध छैन : एमाले महासचिव पोखरेल

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारमा जिम्मेवारीबोध नरहेको आरोप लगाउँदै सरकारको कार्यशैलीले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थामाथि प्रश्न उठाएको बताएका छन्।

प्रेस चौतारी नेपाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले देश कसले सञ्चालन गरिरहेको छ भन्ने प्रश्न उठ्न थालेको बताए।

सरकारका पछिल्ला गतिविधि सकारात्मक नरहेको टिप्पणी गर्दै उनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सरकारको कार्यशैलीप्रति सन्तुष्ट नरहेको दाबी गरे।

प्रधानमन्त्रीले आफ्नै पार्टी, संसदीय दल तथा आफूलाई प्रधानमन्त्री बनाउने संसद्सँग समेत पर्याप्त संवाद नगरेको उनको आरोप थियो।

‘देश साँच्चै रास्वपाले चलाइरहेको छ ? प्रधानमन्त्रीले चलाइरहनुभएको छ ? कि कानुन र संविधानले देश चलाइरहेको छ ? प्रधानमन्त्रीका गतिविधि र क्रियाकलापले यस्ता प्रश्न उत्पन्न गरिरहेका छन्,’ पोखरेलले भने।

उनले सरकारले नागरिकलाई राज्यको उपस्थिति र अनुभूति गराउन नसकेको टिप्पणी गरे। संकटका वेला राज्यको उपस्थिति अझ प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै संकटमा परेका नागरिकले समेत राज्यको अनुभूति गर्न नपाए राज्य कमजोर हुँदै जाने उनको भनाइ थियो।

पोखरेलले सरकारलाई स्वेच्छाचारी र अधिनायकवादी बाटोतर्फ अघि बढ्ने गतिविधि तत्काल रोक्न तथा संविधानअनुसार शासन सञ्चालन गर्न आग्रह गरे। सरकारको कार्यशैली नसच्चिए मुलुक थप संशय, संकट र जोखिममा पर्न सक्ने उनले चेतावनी दिए।

लोकतन्त्र, जनअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रमुख राजनीतिक दलहरूबिच एकता र सहकार्य आवश्यक रहेकोमा पनि उनले जोड दिए। नेकपा एमाले, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीसहितका दलहरू लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाको रक्षाका लागि एकजुट हुनुपर्ने उनको भनाइ थियो।

सरकार गठन भएको सात महिनामै मुलुक आर्थिक इतिहासकै गम्भीर संकटको अवस्थामा पुगेको दाबी गर्दै पोखरेलले जलवायु परिवर्तनका कारण उत्पन्न विपत्तिबाट देशले करिब ६ देखि ७ खर्ब रुपैयाँबराबरको क्षति व्यहोरेको बताए।

यस्तो संवेदनशील अवस्थामा राष्ट्रिय एकता कायम गर्न सरकारले पर्याप्त तदारुकता नदेखाएको आरोप लगाउँदै उनले मुलुकलाई संकटबाट जोगाउन राजनीतिक दलहरूबिच साझा समझदारी र सहकार्य आवश्यक रहेको बताए।

सुझावित समाचार