काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा त्रास र धरपकडको वातावरण सिर्जना गरेर सुधार सम्भव नहुने बताएका छन्। उनले सरकारले डर देखाएर नभई नागरिकको विश्वास जितेर शासन सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले सुशासन कायम गर्न कांग्रेस सहयोग गर्न तयार भए पनि सरकार प्रतिशोध र धरपकडमा केन्द्रित भएको आरोप लगाए।
पत्रकारहरूको कार्यालयमा भएको अनधिकृत प्रवेशप्रति आपत्ति जनाउँदै उनले घटनाका दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरे। साथै, राज्यका अनुसन्धान निकाय निष्पक्ष हुनुपर्ने र छानीछानी अनुसन्धान गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।
थापाले सरकारको प्राथमिकता विपत् प्रभावित नागरिकको राहत, पुनर्स्थापना र सुशासन हुनुपर्ने उल्लेख गरे।
उनले कांग्रेस सरकारसँग सहकार्य गर्न र गलत कदमको प्रतिवाद गर्न दुवै अवस्थामा तयार रहेको स्पष्ट पार्दै नागरिक समाज, नयाँ पुस्ता तथा भदौ २३ र २४ गतेको आन्दोलनमा सहभागी युवाहरूसँग व्यापक संवाद अघि बढाउने जानकारी दिए।