हामी नै राज्य हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

आइतबार, १५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन् ।

समाचार लेखेकै आधारमा सञ्चारगृहभित्र प्रवेश गरी पत्रकार पक्राउ गर्ने सरकारी कदमले निरंकुश शासनको झल्को दिएको उल्लेख गर्दै उनले कांग्रेसले यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्दै थापाले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

उनका अनुसार सुरुमा प्रहरीले पत्रकार पक्राउ गरेपछि प्रधानमन्त्रीको सचिवालयले घटनाबारे आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएको थियो । तर, पछि प्रहरीले प्रधानमन्त्री कार्यालयको चासो सम्बोधन गर्न पत्रकार पक्राउ गरिएको बताएको र शनिबार बिहान उक्त वक्तव्यसमेत हटाइएको थापाले उल्लेख गरे ।

त्यसैगरी, प्रधानमन्त्रीको सचिवालयबाट २८ जना पत्रकारको सूची तयार गरी प्रहरीलाई पठाइएको विषय सार्वजनिक भएको भन्दै उनले घटनालाई सामान्य रूपमा लिन नसकिने बताए ।

‘पत्रकार पक्राउ परे, छुटे, अब विषय सकियो भन्ने होइन । यतिमै यो विषय टुंगिनुहुँदैन । यसले सरकारले राज्य, नागरिक अधिकार र प्रेस स्वतन्त्रतालाई कसरी बुझेको छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ,’ उनले भने ।

थापाले प्रहरी आफैँले निर्णय गरेर सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ नगरेको दाबी गर्दै सामाजिक सञ्जालमा आउने प्रतिक्रियाका आधारमा सरकार सञ्चालन गर्न खोजिएको आरोप लगाए ।

उनले व्यंग्यात्मक शैलीमा सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै केही व्यक्तिको सनक र सामाजिक सञ्जालमा प्राप्त लाइक तथा प्रतिक्रियाका आधारमा पत्रकार पक्राउ गर्ने र छाड्ने निर्णय हुनु गम्भीर विषय भएको बताए ।

सरकारमा रहेकाहरूमा राज्यलाई आफ्नै इच्छाअनुसार सञ्चालन गर्न सकिने अहंकार बढेको आरोप लगाउँदै थापाले राज्यका निकाय र शक्तिको स्वेच्छाचारी प्रयोग स्वीकार्य नहुने स्पष्ट पारे ।

‘सरकारमा बसेकाहरूले हामी नै राज्य हौँ र हामीले बोलेको कुरा नै हुकुम हो भन्ने ठान्नुहुँदैन । मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ,’ उनले भने ।

लोकतान्त्रिक व्यवस्थामा सरकारको इच्छा कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै थापाले नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताए । यस्तो प्रवृत्तिविरुद्ध नेपाली कांग्रेस दृढतापूर्वक उभिने उनको भनाइ छ ।

सुझावित समाचार