सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई ३१ असोजमा पक्राउ गरेको थियो । 

बिचौलियाको काम गरेको आरोपमा यसअघि पक्राउ परेका इनम सापकोटाको बयान र उनीसँग देखिएको शंकास्पद कारोबारका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले बताए । दसैँ बिदा भएकाले उनलाई सोमबार पहिलोपटक अदालतमा उपस्थित गराउन लागिएको छ । 

सुशील बिचौलिया दीपक भट्टका दाइ हुन् । दीपककै जोडमा उनी बोर्डको सिइओ बनेका थिए । अहिले दीपककै कारण उनी अनुसन्धानमा तानिएका छन् । इनमसँग मिलेर दीपकलाई छुटाउन विभिन्न निकायमा चलखेल गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा उनीसमेत पक्राउ परेका हुन् । दीपक पनि गत चैतदेखि थुनामा छन् । विगतमा सरकारकै संरक्षणमा उनी र निकट समूहले गरेका विभिन्न कानुनविपरीतका गतिविधिमा हाल सरकारले अनुसन्धान गरिरहेको छ ।

सुझावित समाचार