नुवाकोट । नुवाकोटको ढुंगेबजारदेखि महत्त्वपूर्ण व्यापारिक केन्द्र त्रिशूलीबजार जोड्ने झोलुंगे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त पुलको शुक्रबार बिहान महासंघका अध्यक्ष निकोलस पाण्डेले उद्घाटन गरेका हुन् ।
पुल उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले करिब एक महिनामै २६७ मिटर लामो पुल निर्माण सम्पन्न हुनु निर्माण व्यवसायीहरूको उदाहरणीय कार्य भएको बताए। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि नुवाकोटका निर्माण व्यवसायीहरूले आफन्त गुमाउनुपर्दाको पीडालाई शक्तिमा बदल्दै अत्यन्त छोटो अवधिमा पुल निर्माण गरेको उनले उल्लेख गरे । पुल सञ्चालनमा आएसँगै दैनिक हजारौँ स्थानीय बासिन्दा लाभान्वित हुने उनकाे भनाइ थियो।
‘यो पुल निर्माणपछि निर्माण व्यवसायीहरूले समयमै गुणस्तरीय काम गर्न सक्दैनन् भन्ने धारणाको खण्डन भएको छ,’ अध्यक्ष पाण्डेले भने। उनले पुल निर्माणमा संलग्न प्राविधिक तथा मजदुरहरूलाई धन्यवाद दिँदै उनीहरूको योगदानको प्रशंसा गरे ।
अध्यक्ष पाण्डेले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा देशभरका निर्माण व्यवसायीहरूबाट १० करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरिएको जानकारीसमेत दिए। कर्मचारीतन्त्रबाट अवरोध नहुने हो भने नेपाली निर्माण व्यवसायीहरूले अझ उत्कृष्ट काम गर्न सक्ने उनकाे भनाइ थियो। राज्य विपतमा परेको समयमा महासंघले विगतदेखि नै विभिन्न किसिमका सहयोग गर्दै आएको उनले बताए ।
कार्यक्रममा बागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौँ नागरिक लाभान्वित हुने गरी पुल निर्माण हुनुले निर्माण व्यवसायीप्रतिको सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रमसिंह ठकुरीलगायतले सामाजिक उत्तरदायित्वअन्तर्गत महासंघले गरेको कामको प्रशंसा गरे। उनीहरूले पुल निर्माणलाई महासंघको ऐतिहासिक तथा उदाहरणीय कार्यका रूपमा उल्लेख गरे ।
निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले महासंघको यस कार्यबाट राज्यले समेत पाठ सिक्नुपर्ने धारणा राखे ।
उद्घाटन कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, महासचिव शिवहरि घिमिरे, उपमहासचिव सन्तोष साह, कार्यसमिति सदस्य सरेन्द्रराज केसी, विशेष आमन्त्रित सदस्य ओपेन्द्रकुमार खड्का तथा महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायतको उपस्थिति रहेको थियो।
पुल सञ्चालनमा आएसँगै ढुंगेबजार र त्रिशूलीबजारबिचको आवतजावत सहज हुनुका साथै स्थानीय बासिन्दा तथा व्यापारीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।