कांग्रेस महाधिवेशनबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूको टिप्पणी

‘लोकतन्त्र र संविधान जोगाउन एकताबद्ध बनोस्, महाधिवेशन  पुरानो–नयाँ पुस्ता जोड्ने कडी बनोस्’

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले देशमा लोकतन्त्र र संविधानमाथि संकट देखिएका वेला कांग्रेसको १५औँ महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउँदै लोकतान्त्रिक शक्तिहरूलाई समेत एक ठाउँमा ल्याउन अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसको राजनीतिक संस्कार र उदार चरित्रबाट अन्य दलले समेत सिक्नुपर्ने उल्लेख गर्दै उनीहरूले एकतालाई केन्द्रमा राखेर पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्ने कडीका रूपमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, इतिहासदेखि वर्तमानसम्म पार्टीले खेलेको भूमिकाको समीक्षा गर्दै महाधिवेशनमार्फत कांग्रेसले नीति, नेतृत्व र कार्यशैलीमा परिवर्तनको अनुभूति गराउन सक्नुपर्ने ती नेताहरूको सुझाव छ । पुस्तान्तरणको सवालमा अतिवादी दृष्टिकोणभन्दा परिपक्व सोचका साथ अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ ।

एमाले उपमहासचिव योगेश भट्टराईले देशमा लोकतन्त्र र संविधानमाथि नै संकट देखापरिरहेको वेला आन्तरिक एकता सुदृढ गर्दै लोकतन्त्रका लागि लडेको दलले अन्य दलसँगको सहकार्यलाई पनि बलियो बनाउन आफूलाई बहुआयामिक रूपमा पुनर्गठित गर्नुपर्ने बताए । ‘लोकतन्त्र, संविधान, खुला समाज, मानव अधिकार र प्रेस स्वतन्त्रतामाथि देखिएको संकट समाधानमा लोकतन्त्र र संविधानका लागि लडेको कांग्रेसजस्तो पार्टीको अग्रणी भूमिका आवश्यक छ । महाधिवेशनबाट कांग्रेसजस्तो पार्टी समयानुकूल विचार, संगठन, नेतृत्व र कार्यशैलीमा पुनर्गठित हुनु अनिवार्य छ,’ भट्टराईले भने, ‘त्यसैले बहुआयामिक पुनर्गठनमा कांग्रेसलाई सफलता मिलोस् र महाधिवेशनले देशलाई निराशा र शिथिल मनस्थितिबाट उत्साह र आशावादीतातर्फ अघि बढाओस्, लोकतान्त्रिक शक्तिहरूबिचको एकतालाई अझ सुदृढ बनाओस् ।’

भट्टराईले एमाले र कांग्रेसजस्ता दल लोकतन्त्र र संविधान जोगाउने देशको मुद्दामा एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको बताए । ‘दुवै दल आन्तरिक रूपमा अझ सबल, सुदृढ र एकताबद्ध हुनु आवश्यक छ । यो महाधिवेशनसँगै कांग्रेसलाई त्यसमा पनि सफलता मिलोस्,’ उनले भने । 

रास्वपाका नेता मनीष झाले परिवर्तन अवलम्बन गरेर पुस्तान्तरणको लडाइँसमेत महाधिवेशनमार्फत जित्न लागेकोमा शुभकामना दिए । ‘नेपाली कांग्रेसले परिवर्तन अवलम्बन गरेर त्यसलाई संस्थागत गर्न एक कदम चाल्दै छ । परिवारवाद र भ्रष्टाचारबाट उन्मुक्त भएको गम्भीर सन्देश दिने प्रयास गरिरहेको छ । पुस्तान्तरणको लडाइँ प्रक्रियाबाट जित्न खोज्दै छ । यो महाधिवेशनले नेपाली राजनीतिक अभ्यास र भविष्यमा गम्भीर सम्बन्ध राख्नेछ । पार्टीको नेतृत्व र प्रतिनिधिहरूलाई शुभकामना,’ झाले नयाँ पत्रिकासँग भने ।

अन्य दलले पनि कांग्रेसको लोकतान्त्रिक लडाइँ र उदार चरित्रबाट सिक्नुपर्ने धारणा उनले राखेका छन् । ‘नेपाली कांग्रेस यो देशमा लोकतान्त्रिक राजनीतिक चरित्र र उदारवादी राजनीतिक अभ्यासको अभिभावक हो । अहिलेको राजनीतिक परिवर्तनमा अप्रत्यक्ष राजनीतिक आधारभूमि र बहुदलीय लोकतान्त्रिक संघीय गणतन्त्रको खाका कोर्ने दल हो,’ झाले भने, ‘नेपाली राजनीतिक यात्रामा आएका नयाँ दलहरूले पनि राजनीतिक संस्कार सिक्ने ठाउँ यही हो । लोकतान्त्रिक लडाइँ, उदारवादी राजनीतिक चरित्र सिक्न सकिन्छ ।’

नेकपा प्रचार विभाग प्रमुख रेखा शर्माले दुवै पक्षले लचकता देखाएर सुदृढ एकतासहित अघि बढ्न सुझाव दिइन् । साथै, उनले पुस्तान्तरण राम्रो कुरा भए पनि अतिवादका रूपमा बुझ्नु गलत भएको बताइन् । ‘लोकतन्त्रमा कुनै पनि दल कमजोर या विभाजित हुनु राम्रो होइन । त्यसैले उहाँहरूले आफूमै भएका समस्या समीक्षा गरेर बलियो कांग्रेस बनाउन सक्नुहोस् भन्ने सुझाव छ । लोकतन्त्रका लागि लड्दै आएको दलले यसलाई थप सुदृढ गर्न त्यस्तै कार्यदिशा र नेतृत्व तय गर्न सक्नुपर्छ । त्यसका लागि एकताबद्ध पार्टी बनाउने दुवै पक्ष लचक पनि बनुन्,’ शर्माले भनिन्, ‘पुस्तान्तरण महत्वपूर्ण मुद्दा भए पनि पुरानो पुस्ता केही पनि होइन भन्ने ठान्ने र नयाँ पुस्ताप्रति विश्वास नगर्ने दुवै अतिवाद गलत छन् । आजको उपलब्धिमा पुरानो पुस्ताको सम्मान गर्दै उहाँहरूलाई समेत समेट्दै नयाँ पुस्तालाई अघि बढाउनुपर्छ । दुवै पुस्ताले एकले अर्कोलाई नकारात्मक ढंगले बुझ्नुभन्दा परिपूरक ढंगको बुझाइका साथ अघि बढ्न जरुरी छ ।’

राष्ट्रिय संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेसले इतिहासको समीक्षा गर्दै आफूलाई पुस्तान्तरणमार्फत अघि बढ्न खोजेको भन्दै महाधिवेशनबाट राम्रो सन्देश जाने टिप्पणी गरे । ‘लोकतान्त्रिक अभ्यास गर्दै आएको देशको पुरानो पार्टीले आफूलाई फर्किएर इतिहासको समीक्षा गर्दा धेरै ठुलो योगदान रहेको पाउँछ । तथापि, समयक्रममा त्यति ठुलो र पुरानो पार्टीलाई जनताले उसलाई हेर्ने नजरमा निराशा देखिएकै हो,’ राईले भने, ‘कांग्रेसले आन्तरिक विवाद र टुटफुटबिच महाधिवेशन गरिरहेको भए पनि त्यसप्रति हाम्रो कुनै टिप्पणी छैन । मिलेर जान सक्नुभयो भने अझ राम्रो हुन्छ । तर, समग्रमा पुस्तान्तरणको सन्देश जाने गरी नयाँ युवाहरूलाई आकर्षित गर्ने गरी अघि बढ्दा राम्रो सन्देश जानेछ ।’ 

सुझावित समाचार