केरुङमा अड्किएका १२३ नेपाली तातोपानी नाका हुँदै काठमाडौं आइपुगे, थप आठ सय आउने

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण
केरुङमा अड्किएका १२३ नेपाली तातोपानी नाका हुँदै काठमाडौं आइपुगे, थप आठ सय आउने

भोटेकोशीमा बाढी आएको नौ दिनपछि केरुङमा रहेका नेपालीहरू बिहीबार नेपाल–चीन सीमानाका तातोपानीबाट स्वदेश फर्किंदै ।

१० भदौको भोटेकोशी बाढीपछि केरुङमा अड्किएका एक सय २३ नेपाली बिहीबार तातोपानी नाकाबाट काठमाडौं आइपुगेका छन् । सरकारले बसको व्यवस्था गरेर त्यहाँबाट काठमाडौं ल्याएको छ । फर्किएकाहरू एक नावालकसहित एक सय १४ रसुवाली तथा नौजना दोलखा, रामेछाप र सोलुखुम्बुका हुन् ।

बाढीमा परेर आफन्तजन मृत्यु र बेपत्ता भएको र लामो समय नाका बन्द रहने अवस्थाले त्यहाँको व्यवसाय छाडेर स्वदेश फर्कन बाध्य भएको उनीहरूले बताएका छन् । फर्किएका सबैजसो केरुङमा होटेल र पसल सञ्चालन गर्ने व्यवसायी  हुन् । उनीहरूले विशेषगरी टिमुरेबाट कन्टेनर लिएर सामान ढुवानी गर्न केरुङ पुगेका नेपालीलाई खानेबस्ने सुविधा उपलब्ध गराउँथे । 

अध्यागमन कार्यालय कोदारीका प्रमुख पदमराज तिमल्सिनाले तातोपानी नाकामा अध्यागमन सेवा नियमित रहेको जानकारी दिए । ‘तातोपानी नाकाबाट ठूला कन्टेनर आउजाउ गर्न चीनको झाङ्मु प्रशासनले बन्द गरे पनि पर्यटक आवतजावत नियमित रहेको छ,’ उनले भने । कोदारी अध्यागमन बन्द नहुने र चीनपट्टिको अध्यागमन पनि सुचारु रहेको उनले बताए । बाढीपछि केरुङमा रहेका नेपाली दैनिकजसो तातोपानी नाका भएर फर्कँदैछन् ।

होटेल, व्यवसायी र कन्टेनर चालकसमेत गरी केरुङमा झन्डै एक हजारभन्दा बढी नेपाली केरुङमा छन् । जसमध्ये थप आठ सय नेपाली आउने तयारीमा छन् । उनीहरू बाढी प्रभावित होइनन् । उनीहरू सीमा पासका आधारमा त्यहाँ बस्दै आएका थिए । केरुङमा बसेकामध्ये करिब आठ सय नेपालीको परिवार बाढीबाट प्रभावित भएको र उनीहरूले आउने इच्छा राखेका छन् । ‘करिब आठ सयजना नेपालीलाई केरुङबाट तातोपानी ताका हुँदै स्वदेश पठाउँदै छौँ, यसका लागि चीन सरकारले सहयोग गरेको छ,’ ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले भने । 

परराष्ट्र मन्त्रालयका अनुसार हाल करिब १४ सयजना नेपाली नागरिक केरुङमा छन् । ‘छिट्टै फर्कन चाहनेका लागि हामी चिनियाँ पक्षसँग समन्वय गरिरहेका छौँ,’ परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने । बाढीको दिन सीमाको चिनियाँ क्षेत्रबाट करिब सयजना नेपाली अझै बेपत्ता रहेको परराष्ट्रले जनाएको छ ।

चीन सरकारको अनुदानमा शुक्रबार दुईवटा बेलिब्रिज तिब्बतको सिगात्से र ल्हासाबाट कन्टेनर ट्रकमार्फत कोरला नाका भएर नेपाल ल्याउन लागिएको छ । नेपालले चीनसँग ३० वटा बेलिब्रिज मागेको थियो । ‘शुक्रबार साँझसम्म बेलिब्रिज मुस्ताङ पुग्नेछ, मैले ल्हासास्थित चीन सरकारसँग समन्वय गरिरहेको छु,’ निरौलाले भने । चीनबाट राहतको तेस्रो खेप पनि बिहीबार दिउँसो चिनियाँ जनमुक्ति सेनाको विमानबाट काठमाडौं अवतरण गरेको छ ।

परराष्ट्र प्रवक्ता क्षेत्रीका अनुसार १९ सदस्यीय भारतीय फरेन्सिक टोली, चीनको पाँच सदस्यीय विशेषज्ञ फरेन्सिक टोली र सिंगापुरको २४ सदस्यीय विपत्पीडित पहिचान टोलीमध्येका १९ जना सदस्यले नेपाली टोलीसँग मिलेर काम गरिरहेका छन् । उनीहरूले डिएनए संकलन, विश्लेषण र प्रतिवेदन तयार गरिरहेका छन् । सिंगापुरको टोलीका बाँकी सदस्यहरू ड्रोन र त्यससँग सम्बन्धित सामग्रीसहित चाँडै आइपुग्ने पनि क्षेत्रीले बताए । यो कार्यमा कोरियाका दुईजना फरेन्सिक अधिकारीहरू पनि आवश्यक उपकरण र औजारसहित खटिएका छन् । 

सरकारले उच्च क्षमताका ड्रोन, लिडार, बेलिब्रिज, महामारी नियन्त्रणका सामग्री, डिएनए परीक्षण किट, शव राख्ने झोला, बाढी उद्धार ट्रक, मोबाइल एयर ट्राफिक कन्ट्रोल सिस्टम, ग्राउन्ड पेनेट्रेटिङ राडार, उच्च शुद्धताका लेजर मिटर, ब्रोडब्यान्ड सिस्मोमिटर, उच्च क्षमताका सर्ज पम्प र प्रयोगशाला फ्रिजरलगायत सामग्रीका लागि अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेको पनि उनले बताए । 

परराष्ट्रमन्त्री खनालको कूटनीतिक ‘ब्रिफिङ’

१० भदौमा तिब्बतबाट प्रवेश गरेको विनाशकारी भोटेकोशी बाढी र त्यसपछिको उद्धार, राहत तथा पुनर्स्थापनाबारे परराष्ट्रमन्त्री शिशिर खनालले नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग प्रमुख र प्रतिनिधिलाई बिहीबार ‘ब्रिफिङ’ गरेका छन् । परराष्ट्र मन्त्रालयमा आयोजित औपचारिक कूटनीतिक ‘ब्रिफिङ’मा परराष्ट्रमन्त्री खनालले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा प्रभावितहरूको पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग अपेक्षा गरिएको स्पष्ट पारेका छन् । 

कूटनीतिक ‘ब्रिफिङ’मा विभिन्न मुलुकका राजदूत, प्रतिनिधि, विश्व बैंक र एसियाली विकास बैंक एवं संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी थिए । विनाशकारी बाढीले निम्त्याएको विपत्को पछिल्लो अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था तथा अन्तर्राष्ट्रिय सहयोगबारे उनले जानकारी दिएका थिए ।

विनाशकारी बाढीलाई ‘हिमाली सुनामी’ भन्दै उनले विपत्पछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि ठुलो स्रोत–साधनको आवश्यकता पर्ने बताए । ‘पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्नेछ । आवश्यकताहरू स्पष्ट हुँदै जाने क्रममा नेपाल सकारले कूटनीतिक च्यानलमार्फत तपाईँहरूलाई जानकारी गराउनेछ र पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हाम्रा अन्तर्राष्ट्रिय साझेदारबाट सहयोगको अपेक्षा गर्नेछ,’ खनालले भने । उनले पारदर्शिता, जवाफदेहिता र स्पष्ट लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहायता परिचालन तथा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारले विपत्को कारण र यसको विकासक्रमबारे अध्ययन गरिरहेको जानकारी दिँदै परराष्ट्रमन्त्री खनालले यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोगसमेत लिइरहेको उल्लेख गरे । नेपालको हालसम्मको स्मृतिमा यस्तो प्रकृतिको विपत्को अनुभव नभएको पनि उनले बताए । उनले तथा स्थानीय समुदाय निरन्तर उद्धार तथा राहत कार्यमा खटिएका छन् । खोज, उद्धार तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गरे । उनले विदेशी नागरिकको सुरक्षा र कल्याण नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेका छन् । 

परराष्ट्रमन्त्री खनालका अनुसार अन्तर्राष्ट्रिय सहयोग उद्धारसम्बन्धी विशेषज्ञता, उपकरण, लजिस्टिक, चिकित्सा तथा फरेन्सिक सहयोग र आर्थिक सहायताका रूपमा नेपालले प्राप्त गरेको छ । ‘प्राप्त ऐक्यबद्धता र सहयोगहरू उद्धार विशेषज्ञता, उपकरण, लजिस्टिक, स्वास्थ्य तथा फरेन्सिक सहयोग र आर्थिक सहायताका रूपमा प्राप्त भएको छ,’ उनले भने । 

बाढीबाट घर, सडक, पुल, जलविद्युत् तथा अन्य महत्वपूर्ण पूर्वाधारमा भएको क्षतिको प्रारम्भिक मूल्यांकन भइरहेको पनि उनले जानकारी दिए । विपत्पछिको आवश्यकता मूल्यांकनमार्फत क्षतिको पूर्ण अवस्था तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोतको यकिन गरिने उनले बताए । बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठुलो परिमाणमा स्रोत आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको उल्लेख गर्दै पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरिने पनि बताए । 

See More On

सुझावित समाचार