लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको अध्ययन पूर्वस्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ।
बैठकले बर्दिया अस्पताल, गुलरियामा प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिस्ट समूह, एघारौँ तहका डाक्टर सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय गरेको छ। त्यसैगरी, सामाजिक विकास मन्त्रालयबाट पेस भएको सडकआश्रित मानव व्यवस्थापन कार्यविधि, २०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ।
बैठकले लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेलाई दिने निर्णय पनि गरेको छ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट सन्तुलित, यथार्थपरक र परिणाममुखी बनाउने गरी आवश्यक ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिएका सरकारका प्रवक्ता घिमिरेले जानकारी दिए।