भन्सार छलेर भित्र्याएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।
मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति सशस्त्र प्रहरी बलले ती गाडीहरू नियन्त्रणमा लिएको डिआइजी विष्णुप्रसाद भट्टले बताए। गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत दुईवटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइने डिआइजी भट्ट बताउँछन् । बजेटमा परिवर्तन गरिएको भन्सार दल छल्न विभिन्न कम्पनीले भन्सार कर्मचारीसँग मिलेर पुरानो मितिको प्रज्ञापनपत्र बनाएर भन्सार छलेको आशंका गरिएको छ।