लुम्बिनीमा एमालेका चार मन्त्री फिर्ता

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्री फिर्ता भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेका चार मन्त्री फिर्ता भएका हुन् । मुख्यमन्त्री आचार्यले पार्टी केन्द्रसँगको सल्लाहअनुसार मन्त्रीहरूलाई फिर्ता गर्न  निर्देशन दिइएको बताए ।

मुख्यमन्त्रीको निर्देशनपछि मन्त्रीहरूले राजीनामा दिएको भूमिश्वर ढकालले बताए । कांग्रेससँगको सत्तासाझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका वेला एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको हो । यहाँ कांग्रेसले मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आए पनि त्यसमा अझै निर्णय भएको छैन ।  जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया लम्बिँदै गएको अवस्थामा एमालेका मन्त्रीहरू फिर्ता भएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेको बताइएको छ। यहाँ एमालेबाट सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, स्वास्थ्यमन्त्री खेम सारुमगर र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले राजीनामा दिएको ढकालले बताए ।

एमालेबाट नयाँ मन्त्रीको चर्चामा अर्घाखाँचीका रामजीप्रसाद घिमिरे,  गुल्मीका डिल्लीराज भुसाल, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्री रहेका छन् । खत्री यसअघि सामाजिक विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन् । नयाँ मन्त्रीहरूको अझै टुंगो नलागेको मुख्यमन्त्री आचार्यले बताए। मुख्यमन्त्री नै परिवर्तन गर्ने कुरा केन्द्रबाट टुंगिने उनले बताए । केन्द्रबाट आउने निर्देशनअनुसार प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

एमालेले दोस्रोपटक प्रदेश सभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको बताइएको छ। सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरी अगाडि सारिएको बताइएको छ । प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठ कायम गर्ने निर्णय गरिसकेको छ । उक्त विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ ।

सुझावित समाचार