लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभामा आर्थिक वर्ष ०८३/८४ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि  छलफल सुरु भएको छ। प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत मंगलबार बसेको सातौँ बैठकमा प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो।

बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले आफ्नो धारणा राख्न सुरु गरेका हुन्।

छलफलमा प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, निलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मीनाकुमारी श्रेष्ठ तथा विष्णुप्रसाद पन्थीले भाग लिँदै प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राखे।

थारू समुदायको प्रथाजनित विधेयक पेस
यसैबिच, बैठकमा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’पनि पेस गरिएको छ। सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभासमक्ष प्रस्तुत गरेका हुन्।

बैठकको प्रारम्भमा शून्य समयमा ११ जना प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए। प्रदेश सभाको अर्को बैठक जेठ १३ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ।

सुझावित समाचार