चालू आर्थिक वर्ष ०८०/०८१ को १० महिना सकिँदा गण्डकी प्रदेश सरकारले ३७.४९ प्रतिशत मात्र बजेट खर्च गरेको छ।
चालू आवका लागि गण्डकीले पुँजीगततर्फ २० अर्ब १९ करोड चार लाख, चालूतर्फ १२ अर्ब ७३ करोड ६७ लाख र वित्तीय व्यवस्थातर्फ ५० करोड गरी कुल ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको थियो।
प्रदेशको कुल बजेटमध्ये चालू आवको १० महिना अर्थात् वैशाख मसान्त सकिँदा १२ अर्ब २६ करोड २५ लाख (३७.४९ प्रतिशत) खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय गण्डकीका सूचना अधिकारी सुदीप गौतमले जानकारी दिए। खर्चमध्ये पुँजीगततर्फ विनियोजित बजेटको ३५.९३ प्रतिशत अर्थात् सात अर्ब ८७ लाख र चालूतर्फ ४१.३७ प्रतिशत अर्थात् पाँच अर्ब २५ करोड ३८ लाख खर्च भएको छ।
मन्त्रालयगत रूपमा हेर्दा पुँजीगततर्फको बजेट खर्च गर्ने पहिलो नम्बरमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय रहेको छ भने अन्तिममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको छ। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले पुँजीगततर्फ विनियोजन भएको चार अर्ब ६६ करोड ५२ लाखको ४६.९१ प्रतिशत (दुई अर्ब १८ करोड ८३ लाख) खर्च गरेको छ। पुछारमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुँजीगततर्फ विनियोजित दुई अर्ब ८३ करोड ७० लाखको १३.७४ प्रतिशत (३८ करोड ९८ लाख रुपैयाँ) मात्रै खर्च गरेको छ।
खर्च गर्ने दोस्रो नम्बरमा रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पुँजीगततर्फ विनियोजन भएकोे ११ अर्ब ४८ करोड १५ लाखको ३५.९४ प्रतिशत अर्थात् चार अर्ब १२ करोड ६१ लख खर्च गर्दा तेस्रो नम्बरमा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पुँजीगततर्फ विनियोजन भएको ८० करोड ७६ लाखको ३४.८४ प्रतिशत (२८ करोड १३ लाख) खर्च गरेको छ।
यसैगरी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले पुँजीगततर्फ विनियोजित एक अर्ब पाँच करोड तीन लाखको ३०.३५ प्रतिशत अर्थात् ३१ करोड ८७ लाख, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले विनियोजित १७ करोड ८३ लाखको २५.८६ प्रतिशत अर्थात् चार करोड ६१ लाख खर्च गर्दा आर्थिक मामिला मन्त्रालयले पुँजीगततर्फ विनियोजन भएकोे ८७ लाखको १९.३६ प्रतिशत अर्थात् १७ लाख खर्च गरेको छ।
सूचना अधिकारी गौतमका अनुसार यस वर्ष चालूतर्फ राखिएका कार्यक्रमहरू धेरै सञ्चालन नभएका कारण चालूतर्फको खर्चसमेत न्यून देखिएको छ।